जनकपुर, साउन २०
उच्च अदालत जनकपुरले जनकपुरधाम उपमहानगरपालिकाका तत्कालिन मेयर लालकिशोर साह र उपमेयर रिताकुमारी मिश्रले एक व्यक्तिको घर भत्काएको भन्दै सात लाख रुपैयाँ क्षतिपूर्ति भर्न आदेश दिएको छ ।
उच्च अदालत जनकपुरको संयूक्त ईजलासबाट कामु मुख्य न्यायधीश विनोद शर्मा र न्यायाधीश विष्णुप्रसाद कोइरालाले अदालतको अवहेलना गरेको र एक व्यक्तिको घर जानीजानी भत्काउन आदेश दिएको भन्दै जनकपुरधाम उपमहानगरपालिकाका तत्कालिन मेयर लालकिशोर साह र उपमेयर रिताकुमारी मिश्रमाथि तीन लाख पचास हजार रुपैयाँको दरले दुवैजनाबाट सो क्षतिपूर्ति भर्न आदेश दिएको हो ।
जनकपुरधाम उपमहनगरपालिका वडा नम्बर १ बस्ने चन्देश्वर साहको तत्कालिन धनुषा बेंगाशिवपुर गाविस वडा नम्बर ७ (हाल जनकपुरधाम उपमहानगरपालिका) ख को कित्ता नम्बर ७७५ को २ कठ्ठा १७ धुरमा रहेको एकतल्ले पक्की घरमा रहेको गिर्जा सेल मिल सहितको घर भत्काउने क्रममा उनले २०७६ भदौँ २४ मा निषेधाज्ञा मुद्दा दिएका थिए । तर अदालतको उक्त आदेशलाई समेत अवहेलना गर्दै सो घर भत्काएपछि चन्देश्वर साहले १५ लाख ८९ हजार ९०४ रुपैयाँ ८४ पैसा मूल्य बराबरको घर पूर्णरुपमा क्षती पुर्याएको दावी गर्दै विपक्षी जनकपुरधाम उपमहानगरका मेयर लालकिशोर साह र उपमेयर मिश्रसहित ४ जनामाथि क्षतीपूर्ति माग दावी गर्दै मुद्दा दिएका थिए ।
विपक्षी मेयर लालकिशोर साह र उपमेयर मिश्रले अदालतको अवहेलना समेत गरेको ठहर गर्दै अदालतबाट जारी भएको निषेधाज्ञाको आदेश विपरित हुने गरि निवेदकको घर भत्काएकोमा मेयर लालकिशोर साह र उपमेयर रिताकुमारी मिश्रबाट सात लाख रुपैयाँ बराबरको क्षतिपूर्ति भरी पाउने ठहर गरेको जारी गरिएको आदेशमा उल्लेख छ ।
सो आदेशमा भनिएको छ, ‘सोमा लेखिए बमोजिम विपक्षी मध्येका जनकपुरधाम उपमहानगरपालिकाका तत्कालिन मेयर लालकिशोर र उपमेयर रिताकुमारी मिश्रबाट निवेदकको घर समेत भत्काई क्षति पुर्याए वापतमा मनासिव क्षतिपूर्ति सात लाख रुपैयाँ मध्ये तीन लाख पचास हजार रुपैयाँका दरले दुवै जनाले क्षतिपूर्ति तिर्नुपर्ने भनिएको छ ।
मेयर लालकिशोर साह र उपमेयर मिश्रले आफ्नो लिखित बयानमा आफुहरुले घर भत्काउन आदेश नदिएको भनि ईन्कारी बयान दिएपनि विपक्षी स्काईभेटर सञ्चालक समेत रहेका वीरेन्द्र पासमानले मेयर र उपमेयरको आदेशमा घर भत्काएको भनि लिखित जवाफ दिएपछि सोलाई आधार मानेको आदेशमा भनिएको छ । सोही अनुसार अदालतले सात लाख रुपैयाँ क्षतिको मूल्यांकन समेत गरेका छन् ।
अन्य विपक्षी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १८ का वडाअध्यक्ष रामअशिष पजियार र वीरेन्द्र पासमानको हकमा प्रमाण नपुगेको भनि सफाई पाएका छन् ।
सो सडक जनकपुरधाम उपमहानगर मातहतको नभई संघीय सरकारको मातहतमा जनकपुरधाम–यदुकोहा सडक हुलाकी सडकमा पर्छ ।
जनकपुरधाम उपमहानगरपालिका भित्रका सडक विस्तार गर्ने क्रममा ०७६ मा जनकपुरधाम उपमहानगरले अधिकांश घर तोडफोड गरिएको थियो ।
