जनकपुर, साउन २३
आउँदो मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा भएसँगै प्रायः माननीयदेखि नेताहरु अहिले आ–आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गर्न तर्फ लागिपरेका छन् ।
सोही अन्तर्गत के गर्ने वा नगर्ने भन्ने कुरामा अन्य प्रतिनिधिसभा सदस्य झैँ माननीय राजेन्द्र महतोसमेत अन्योलमै देखिन्छन् ।
धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभासदस्य समेत रहेका महतोलाई धनुषा छाड्न दबाब बढ्दै गएको छ । उनलाई धनुषा छाडेर विभिन्न चुनाव क्षेत्रबाट निर्वाचन लड्न पनि दबाब आइरहेको छ ।
यसअघि धनुषा क्षेत्र नम्बर ३ बाट चुनाव जितेका महतोलाई यस पटक सर्लाही र सप्तरीबाट समेत चुनाव लड्न दबाब आइरहेको छ । पूर्वमन्त्री समेत रहेका महतोको भित्रि इच्छा धनुषा–३ बाटै चुनाव लड्ने हो । तर उनले यसका लागि आन्तरिक तयारी पनि गरिसकेका छन्, तर उनलाई गृहजिल्ला सर्लाही र नेपाल सद्भावना पार्टीका संस्थापक स्व.गजेन्द्रनारायण सिंहको जिल्ला सप्तरीको क्षेत्र नम्बर २ बाट चुनाव लड्न दबाब आई नै रहेको छ ।
महतोको घर सर्लाही क्षेत्र नम्बर १ मा पर्छ । उनलाई सो क्षेत्रबाट उम्मेदवारीका लागि दबाब भने अहिलेसम्म आएको छैन । सर्लाहीको क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी नेपालका प्रमोदकुमार साह प्रतिनिधिसभा सदस्य छन् । महतोलाई भने सर्लाहीको क्षेत्र नम्बर ४ बाट चुनाव लड्न दबाब आउने क्रममा छ ।
सो क्षेत्र काँग्रेसका नेता अमरेश सिंह र लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको पुरानो चुनावी क्षेत्र हो । ठाकुर अहिले महोत्तरी सरेका छन् ।
सो क्षेत्रबाट अहिले अमरेश सिंह प्रनितिधिसभा सदस्य छन् । अहिले सोही क्षेत्रबाट राजेन्द्र महतोलाई चुनाव लड्न दबाब आइरहेको छ ।
लोसपा नेपालका नेता सन्तोष मेहताले भने, ‘सो क्षेत्रका केही नेता तथा कार्यकर्ताहरु दैनिकजसो भेट्न आइरहेका हुन्छन्, त्यहाँबाट चुनाव लड्न दबाब दिने गरेका छन् । तर महतोजीले अहिलेसम्म कुनै पनि आश्वासन दिनुभएको छैन ।’
तर,राजेन्द्र महतो बेलाबेला सर्लाही क्षेत्र नम्बर ४ मा पुग्ने पनि गरेका छन् ।
केही दिनदेखि महतोलाई सप्तरी क्षेत्र नम्बर २ बाट चुनाव लड्नका लागि दबाब आइरहेको छ । सप्तरी क्षेत्र नम्बर २ बाट जसपाका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दछन् । आगामी प्रतिनिधिसभाको चुनावमा महतोलाई सोही क्षेत्रबाट चुनाव लड्न दबाब आइरहेको छ । सप्तरीका लोसपा नेता तथा कार्यकर्ताहरूले महतोलाई भेटेर सप्तरी क्षेत्र नम्बर २ बाट चुनाव लड्न आग्रह गर्दै आए पनि महतोले कुनै प्रतिक्रिया जनाएका छैनन् ।
सप्तरी–२ बाट लोसपाको तर्फबाट जेपी ठाकुर चुनाव लड्ने तयारीमा छन् । यसैबीचमा सोही पार्टीका नेताहरु महतोलाई क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउन खोजिरहेका छन् । नेपाल सद्भावना पार्टीका नेता गजेन्द्रनारायण सिंह सप्तरीका हुन् । उनको आदर्श र विचारलाई मान्ने अहिले पनि थुप्रै नेता तथा कार्यकर्ता त्यहाँ छन् । र, महतो गजेन्द्रनारायण सिंहको अनुयायी भएकाले उनलाई चुनाव जित्न सजिलो हुने भन्दै नेताहरुले कन्भिन्स गरिरहेका छन् ।

त्यहाँ जातीय समीकरण पनि अनुकुल रहेको भन्दै कार्यकर्ताहरूले महतोलाई मनाउन खोजिरहेका छन् । राजविराज बजार सोही क्षेत्रमा पर्छ । त्यहाँ हरेक समुदायका मान्छे बस्दै आएका छन् । त्यसैले महतोलाई सो क्षेत्रमा चुनाव जित्न सहज हुने लोसपाका कार्यकर्ताहरुको भनाइ छ ।
महतो निकट एक नेताका अनुसार महतोले सप्तरीबाट चुनाव लड्ने सोच बनाएकै छैनन् । उनका लागि धनुषा नै उपयुक्त हुने, धनुषा छाड्नै पर्ने अवस्था भएमा सर्लाही दोस्रो रोजाइमा परेको ती नेताको भनाइ छ ।
महतोले धनुषाबाट चुनाव जिते यता आफ्नो गृहजिल्लालाई भन्दा पनि बढी समय धनुषालाई दिने गरेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका कार्य पनि अघि बढाएका छन् । उनी धनुषा–३ मा जनताको घरघर पुगेका छन् । सो क्षेत्रमा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए । यता नेता निधिसमेत चुनावी आँकलन गर्दै आएका छन् ।
