जनकपुर, साउन २५
जानकी मन्दिरको उत्तराधिकारी महन्तको फर्जी परिचय पत्र बनाएको आरोप लागेका रामरोशन दास वैष्णव जानकी मन्दिरको उत्तराधिकारी महन्त रहेको गुठी संस्थान जनकपुरधामले जनाएको छ ।
जानकी मन्दिरको उत्तराधिकार महन्त र उत्तराधिकारी महन्तको फर्जी परिचय पत्र बनाएको विषयमा विवाद बढ्न थालेपछि रामरोशन दास वैष्णव नै जानकी मन्दिरको उत्तराधिकारी महन्त रहेको गुठी संस्थानले स्पष्ट पारेको हो ।
गुठी संस्थान जनकपुरधामका प्रमुख बैकुण्ठ रेग्मीले गुठी संस्थानले नै उनलाई जानकी मन्दिरको उत्तराधिकारी महन्तमा नियुक्त गरेको हो ।
प्रमुख रेग्मीले भने, ‘रामरोशनजीले उत्तराधिकारी महन्तको फर्जी परिचय पत्र बनाएको आरोप निराधार हो, उनलाई २०७८ सालमै गुठी संस्थानको सञ्चालक समितिको बैठकबाट निर्णय गरेर उत्तराधिकारी महन्तमा रामरोशन दास वैष्णवलाई नियुक्त गरिएको थियो ।’
गुठी संस्थानको संचालक समितिको २०७८ वैशाख १५ मा बसेको बैठकबाट उनलाई उत्तराधिकारी महन्तमा नियुक्त गरिएको थियो । सो बैठकको निर्णय अनुसार पुजारी लगायत जनशक्ति व्यवस्थापन निर्देशिका २०७७ को दफा १० को उपदफा २ मा उत्तराधिकारी महन्त हुन तोकिएकाले सोही निर्देशिकाको दफा ८ बमोजिम योग्य भएको देखिएकाले उक्त निर्देशिकाको दफा १० को उपदफा १ र २ अनुसार रामरोशन दास वैष्णवलाई उत्तराधिकारी महन्तमा नियुक्त गरिएको पत्रमा उल्लेख छ ।
मन्दिरको उत्तराधिकारी महन्त नियुक्त गर्ने अधिकार महन्तको अधिकारको विषय हुन्छ । यसका साथै महन्तले बनाएको आफ्नो ज्येष्ठ शिष्यलाई नै उत्तराधिकारी महन्त बनाउने परम्परा रहँदै आएको छ । सोही अनुरुप जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले केही वर्ष अगाडी देखि नै रामरोशन दास वैष्णवलाई आफ्नो ज्येष्ठ शिष्यको रुपमा परिचय गराउँदै आईरहेका थिए । महन्त रामतपेश्वर दास वैष्णवले नै ज्येष्ठ शिष्यको रुपमा नाता प्रमाणित गराएर उत्तराधिकारी महन्त बनाई दिनका लागि गुठी संस्थानमा सिफारिश गरेका थिए ।
जानकी मन्दिरका महन्त वैष्णवले रामरोशन दास नै उत्तराधिकारी महन्त रहेको बताएका छन् ।

मन्दिरको आर्थिक कारोबार गर्ने अधिकार महन्तलाई मात्रै हुन्छ, प्रमुख रेग्मीले भने, ‘त्यसैले उत्तराधिकारी महन्तले आर्थिक हिनामिना गर्न सक्ने कुनै सम्भावना नै बन्दैन ।’
लक्ष्मण मन्दिरको आर्थिक कारोबार मन्दिरका पूजारी सिताशरण दास वैष्णवले हेर्दै आईरहेका छन् । जानकी मन्दिर र लक्ष्मण मन्दिरको विषय अलग अलग रहेकाले दूबै मन्दिरको आर्थिक कारोबार पनि अलग–अलग हुँदै आईरहेको गुठी संस्थान जनकपुरधामका उनले बताए ।
केही दिन अघि जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव विरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी समेत परेको छ ।
यता धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले सो उजुरीको विषयमा अनुसन्धान भईरहेको जनाएका छन् ।
