जनकपुर, साउन २९
चुरे तथा वन जंगलको संरक्षण र सुकुम्बासीको व्यवस्थापनको माग गर्दै विगत २६ दिनदेखि जनकपुरधाममा रिले अनसनमा बस्दै आएका चुरे तथा वनजंगलको संरक्षण अभियानले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।
आईतबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै तेस्रो चरणको आन्दोलनको घोषणा गरेका हो ।
अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले विगतमा विभिन्न प्रकारको आन्दोलनको मधेश प्रदेश सरकारसँग भएको ७ बुँदे सहमति कार्यान्वयन नहुँदा पुनः तेस्रो चरणको आन्दोलनको घाषणा गरेको बताए ।
विगत २६ दिनदेखि रिले अनसन तथा विभिन्न दवाब मुलक कार्यक्रमहरु गरेपनि प्रदेश सरकार र स्थानिय तहको सरकारबाट कुनै पनि सुनवाई नभएकाले बाध्यतावश तेस्रो चरणको आन्दोलनको घोषणा गरेको संयोजक यादवले बताए ।
अभियानका संयोजक सुनिलकुमार यादवले आन्दोलनको घोषणा गर्दै भदौँ १ गते मधेस प्रदेशका आठवटै जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टा धर्ना तथा ज्ञापनपत्र बुझाउने, भदौँ २, ५, ६ र ७ गते आठवटै जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिने, भदौ ८ गते आठवटै जिल्लाको सदरमुकाममा तीन तहको सरकार विरुद्ध विरोध प्रर्दशन तथा कोणसभा गर्ने, भदौ ९ गते मधेस प्रदेश सरकराका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गरी उनको कार्यालयमा ताला लगाउनेसम्मका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् ।
अभियानका मधेश प्रदेशका अध्यक्ष अमनकुमार यादवले चुरे तथा वनजंगल संरक्षण अभियानीहरुले डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुभाष दासले गरेको अनियमितता तथा मारुती सीमेन्ट उद्योगले अतिक्रमण गरेको वनको जग्गा सम्वन्धमा छानविन गर्न मधेस प्रदेश सरकारले २०७८ भदौ ४ गते गरेको सम्झौता अविलम्व सार्वजनिक गर्नुपर्ने, तराई मधेशका दलित भुमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासीहरु भूमि अधिकारबाट वञ्चित रहेकोले उनीहरुलाई तत्कालै गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने, स्थानिय सरकारद्धारा उठीबास लगाउने कार्य बन्द गर्नुपर्नेलगायतका माग रहेको बताए ।
घोषित आन्दोलनको कार्यक्रममा हुने सम्पूर्ण क्षतिको जिम्मेवारी तीन तहको सरकारले लिनुपर्ने समेत उनले बताए ।
