जनकपुर, भाद्र ३

जानकी मन्दिर वरिपरिमा खुद्रा व्यवासाय गर्दै आएकाहरुले व्यवसायका लागि व्यवस्थापनको माग गर्दै सडकजाम गरेपछि नगर प्रहरी र नेपाल प्रहरीले फुटपाथ व्यवसायीलाई कुटपीट गरेको छ । सो कुटपीटबाट बालकसहित ४ जना घाइते भएका छन् भने ९ जनालाई पक्राउ गरेका छन् ।

शुक्रबार जनकपुरधाम स्थित जानकी चोकमा मन्दिर वरिपरि फुटपाथ व्यवसायीहरुले व्यवसायका लागि स्थल व्यवस्थापन गर्न माग गर्दै सडकजाम गरेपछि ठेला हटाउने विषयमा विवाद भएपछि प्रहरीले लाठी चार्ज गर्दै व्यवसायीहरुलाई लखेटेका थिए ।

कृष्णा जन्मष्टमी मेलाका लागि पूजा सामग्रीहरू बेच्न सडक छेउमा फुटपाथ व्यवसायीहरुले लगाएको ठेला हटाउन नगर प्रहरी र नेपाल प्रहरीले बल प्रयोग गर्दै कुटपीट गरेको थियो ।

प्रहरीले बल प्रयोग गरेको देख्दा स्थानीय युवाहरू पनि आक्रोशित भएका थिए । सोही क्रममा विवाद भएपछि प्रहरीले कुटपीट गरेको थियो । प्रहरीले स्थानीय एक ६ वर्षीय बालकमाथि समेत लाठी प्रहार गरेको स्थानीयवासीहरुको भनाई छ ।

सो क्रममा प्रहरीले किशन मण्डल, कन्हैया दास, सुभाष साह, सोनु साहलगायतका ९ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा लगेका छन् ।

यता फुटपाथ व्यापारीहरूले जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहविरूद्ध विरोध प्रदर्शन समेत गरेका छन् ।

No description available.

फुटपाथ खाली गरेको करिब महिनादिन नवित्दै उपमहानगरले साना तथा खुद्रा व्यवसायीहरुका लागि कुनै व्यवस्थापन नगरेको उनीहरूको गुनासो छ ।