जनकपुर, भाद्र ३
पर्साको निर्वाचन क्षेत्र नम्बर १ को ख बाट निर्वाचित भएका प्रदेश सांसद नै अहिले मधेश प्रदेशको मुख्यमन्त्री पदमा विराजमान छन् । जसकारणले गर्दा यसपटक उक्त क्षेत्र चर्चाको केन्द्रविन्दु बनेको छ भने विभिन्न खाले टिकाटिप्पणी पनि हुन थालेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको क्षेत्र भएका कारण सो क्षेत्रमा उम्मेदवारको विषयमा निकै चासोसाथ छलफल बहस र विभिन्न खाले हल्लाले ठाउँ ओगटेको पाइएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति आगामी मंसिर ४ गते घोषणा भएसँगै पर्सामा निर्वाचनको रौनक पनि शुरु भइसकेको छ । गठबन्धनभित्र र बाहिरका दलहरूले निर्वाचन क्षेत्र र उम्मेदवारहरूको टुङ्गो नलगाए पनि आकाङ्क्षीहरूले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्न थालिसकेका छन् ।
प्रदेशसभा अन्तर्गत पर्सा निर्वाचन क्षेत्र नम्बर १ (ख) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वीरगञ्ज महानगर अध्यक्ष ओमप्रकाश सर्राफले उम्मेदवारी घोषणा गरेका छन् । २०७४ को निर्वाचनमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत निर्वाचित भएको सो क्षेत्रमा सर्राफले उम्मेदवारी घोषणा गरेका हुन् ।
२०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ (ख) बाट मुख्यमन्त्री राउतले नेपाली काँग्रेसका विजय सर्राफलाई २ हजार ९ सय ७५ मतान्तरले पराजित गरेका थिए । राउतले ९ हजार ८ सय ४ मत पाउँदा सर्राफले ६ हजार ८ सय २९ मत प्राप्त गरेका थिए । त्यतिबेला स्वतन्त्रबाट उम्मेदवारी दिएका ओमप्रकाश सर्राफले ५ सय ७१ मत प्राप्त गरेका थिए ।
‘बेटी पढाऊ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत साइकल खरिद प्रक्रियामा पछिल्लो समय विवादमा तानिएका मुख्यमन्त्री राउतले ५ वर्षको अवधिमा बदनामीमात्र कमाएको लोसपाका महानगर अध्यक्ष सर्राफको आरोप छ ।
‘मुख्यमन्त्रीको कार्यशैलीका कारण संघीयता बदनाम भएको छ, मधेश आन्दोलनका शहिद परिवारको बिचल्ली भएको अवस्थामा यिनीहरू विलासी जीवन बाँचिरहेका छन्,’ उनले भने, ‘संघीयतालाई बलियो बनाउन, मधेश आन्दोलनको मर्म र भावनालाई जीवन्त राख्न र शहीदहरूको सपना पूरा गर्न आगामी निर्वाचनमा मुख्यमन्त्री राउतलाई पराजित गर्नुपर्छ, त्यसैका लागि मुख्यमन्त्रीविरुद्ध मेरो उम्मेदवारी हो ।’
उनले एक वर्षभित्र पर्सा जिल्लालाई पूर्ण साक्षर बनाउने, सामुदायिक विद्यालय र स्वास्थ्य संस्थालाई चुस्त दुरुस्त राख्ने, सरकारी अस्पताललाई विश्वासिलो बनाउने आफ्नो एजेण्डा रहेको बताएका छन् । आसन्न निर्वाचनमा मुख्यमन्त्री राउत प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने हो कि प्रदेशमै दोहोरिने भन्ने स्पष्ट छैन । यद्यपि, प्रतिनिधि सभा वा प्रदेश सभा जता भए पनि राउत सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्ने निश्चित छ ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा मुख्यमन्त्रीकी श्रीमती जलेखा खातुन र राउतका स्वकिय सचिव दिपक यादवले लज्जास्पद हार बेहोरेका थिए । जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा खातुन ३ हजार १ सय २३ मत पाएर तेस्रो स्थानमा चित्त बुझाइन भने स्वकीय सचिव यादवको भने पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा जमानत जफत भएको छ । यादव ४ सय ६९ मतका साथ चोथो स्थानमा रहे ।
यता, जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष रामबाबु यादवले आगामी निर्वाचनमा मुख्यमन्त्री राउतले उम्मेदवारी दिने निश्चित रहेको तर प्रतिनिधिसभा वा प्रदेशसभामध्ये केमा उम्मेदवार बन्ने भन्ने टुङ्गो लाग्न बाँकी रहेको बताए । नेपाली कांग्रेसबाट यसअघि पनि उम्मेदवारी दिएका बिजय सर्राफले यसपटक पुनः उम्मेदवारी दिने मनसाय बनाएका छन् भने क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अर्विन्द गुप्ता सोही क्षेत्रका दावेदार हुन् ।
यसअघिको निर्वाचनमा पनि उम्मेदवारी दिएका नेकपा एमालेका शम्भु प्रसाद गुप्ता पुनः उम्मेदवारी दिने सोचका साथ आफ्नो अडान कायमै राखेको छन् ।
अहिले एमालेमा आकांक्षीहरु देखिएका छन् ।
गुप्ता यस अघि पराजित भईसकेका कारण अर्कैलाई अवसर दिनुपर्ने कुराहरु समेत सतहमा आईसकेका छन् ।
नेकपा एमाले वीरगञ्ज महानगर समितिका सचिव सुन्दर कुर्मीलाई टिकट दिन सक्ने चर्चा चलेपनि गुप्ताले भने आफ्नो अडान छाडेका छैनन् । जसको फाईदा गठबन्धनले लिन सक्ने अड्कलवाजी पनि भईरहेको छ ।
