जनकपुर, भाद्र ४
जनकपुरधाम स्थित एक पुस्तकालयमा भएको निर्वाचनमा अध्यक्ष पदमा बराबरी पद पाएपछि विधान बमोजिम गर्नुपर्ने गोलाप्रथालाई बेवास्ता गरेपछि निर्वाचन माथि नै प्रश्न चिन्ह खडा भएको छ ।
जनकपुरधाम स्थित मुजेलियामा रहेको राधाकृष्ण सार्वजनिक पुस्तकालयको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा निर्वाचन अधिकृतले विधान विपरित अध्यक्ष पदमा पुनः निर्वाचन गराउन खोज्दा असफल भएपछि उनी विवादमा तानिएका हुन् ।
गत शनिबार भएको निर्वाचनमा अध्यक्ष पदका दुईजना उम्मेदवारबिच मत बाँझिएपछि पुनः मतदान गर्ने सहमति भएपनि निर्वाचन अधिकृत हरिलाल राउतले आफूखुसी सूचना टाँस गरी निर्वाचन नै नगराएको आरोप लगाइएको हो ।
नवनिर्वाचित कोषाध्यक्ष रामअशिष साहलगायतका पक्षले पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचन अधिकृत राउतले शनिबारका लागि तोकिएको मितिमा पनि पुनः निर्वाचन नगराई पुस्तकालयको मुलद्वारमै ताला लगाएर गायब भएको आरोप लगाएका छन् ।
कोषाध्यक्ष साहले भने, ‘गत शनिबार भएको निर्वाचनमा अध्यक्ष पदमा मत बराबर भएको थियो । अध्यक्षमा राजकिशोर यादव र रामजस यादवसहित दुईजना प्रतिस्पर्धामा थिए । दुबैजनाको ४८\४८ मत आएको थियो । सो पदमा आजका लागि पुनः मतदान हुने समय निर्धारण गरिएको थियो । तर, अन्त्यमा आएर निर्वाचन अधिकृत राउत कसैको प्रभावमा परी निर्वाचन स्थगित भएको सूचना टाँस गरेर निर्वाचन अधिकृत राउत सम्पर्कविहीन बनेका छन् ।’
उनले पुस्तकालयको विधानमा दुईजना उम्मेदवारबीच मत बाँझिए गोलाप्रथाद्वारा उम्मेदवार छनोट गर्ने प्रावधान स्पष्ट रुपमा उल्लेख रहेपनि निर्वाचन अधिकृत राउतले आफूखुसी मतदानको समय निर्धारण गरेको र अन्ततः त्यसबाट पनि पन्छिन खाजेको आरोपसमेत लगाए ।
अध्यक्ष पदका उम्मेदवार राजकिशोर यादवले निर्वाचन अधिकृत राउतले निर्वाचन समितिका अन्य दुईजना सदस्यहरुलाई पनि कुनै जानकारी नदिई आफूखुसी सूचना प्रकाशित गरेर निर्वाचन रोकेको आरोप लगाए । उनले अधिकृत राउत कसैको प्रलोभनमा परेको हुनसक्ने आशंकासमेत व्यक्त गरेका छन् ।
निर्वाचन समितिका सदस्य रामविनोद यादवले पनि निर्वाचन अधिकृत राउतले निर्वाचन स्थगित भएको सूचना प्रकाशित गर्नुअघि आफूहरुसँग कुनै प्रकारको विमर्श नगरेको बताए । अधिकृत राउतले मनोमानी गरिरहेको उनको भनाइ छ ।
तर निर्वाचन अधिकृत राउतले भने, ‘अध्यक्ष पदको निर्वाचन आज (शनिबार)का लागि तोकिएकोमा सो अगावै जिल्ला प्रशासन कार्यालय धनुषामा निर्वाचन आयोगमाथि केही उजुरी पर्न गएको र सो निर्वाचनको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट निर्देशन नआएसम्म आफूले पुनः मतदान गराउन सकिएन ।’
