जनकपुर, भदौ ६

नेपाल प्रिमियर लिग (एनपीएल)मा मधेश प्रदेशबाट जनकपुर रोयल्स टिम समेत सहभागि हुने भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा आगामी सेप्टेम्बर २४ बाट हुन लागेको एनपीएलमा जनकपुर रोयल्स टिम पनि सहभागी हुन लागेको हो ।

यस लिगमा ६ वटा टिमले सहभागिता जनाउने भएको छ । जसमध्ये ४ वटा टिम छनोट भईसकेको छ ।

यस प्रदेशबाट जनकपुर रोयल्स, कान्तिपुर टिम, लुम्बिनी टिम र प्रदेश नम्बर १ बाट विराटनगर रोयल्सको टिमले सहभागिता जनाउने छन् भने अन्य बाँकी दुई वटा टिम छनोटका लागि आन्तरिक गृहकार्य भईरहेको जनाइएको छ ।

जनकपुर रोयल्स टिम भारत जयपुरको गोल्ड स्पोर्ट्स प्रा.लिले खरिद गरेको जनाएको छ । जानकी माताको सेवा गर्ने सोच रहेकोले जनकपुर रोयल्स टिमलाई आफूहरुले खरिद गरेको गोल्ड स्पोर्ट्स प्रा.लि.का निर्देशक गौरीशंकर धमानीले बताए । उनले भने, ‘जानकी माताले बोलाएको र जनकपुरको विकासका साथै यहाँको खेलको विकासका लागि काम गर्ने अवसर पाएकोमा खुशी छु ।’

जनकपुरको सो टिम उनले कति मूल्यमा खरिद गरेको सम्बन्धमा भने केही खुलाएनन् ।

लिगमा नेपाली खेलाडीहरुका साथै विदेशी खेलाडीहरु समेत सहभागि रहनेछ । प्रतियोगितामा सहभागी हुन चाहने ९६ जना खेलाडी मूल्य लाग्नेछ । खरिद गर्ने ६६ जना नेपाली खेलाडी र ३० जना विदेशी खेलाडी निलामीमा सहभागी हुने छन् ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई ए, बी र सी गरी तीन श्रेणीमा वर्गिकृत गरिएको छ । ए श्रेणीका खेलाडीको बेस प्राइस १५ लाख रुपैयाँ, बी श्रेणीका खेलाडीको बेस प्राइस १० लाख रुपैयाँ र सी श्रेणीका खेलाडीको बेस प्राइस ५ लाख रुपैयाँ राखिएको छ ।