जनकपुर, भाद्र ६

गृह मन्त्रालयले निर्धारण गरेको समयावधिमा मधेश प्रदेशबाट मिटर ब्याजी विरुद्ध १ हजार ३६१ वटा उजुरी परेको छ । मधेस प्रदेशमा ८ वटा जिल्ला रहेकोमा गृहमन्त्रालयको निर्देशन अनुसार भदौ ५ गतेसम्ममा १३ सयभन्दा बढी मिटर ब्याजीविरुद्ध उजुरी परेको जिल्लामा रहेको प्रशासनले जनाएको छ ।

गत साउन २७ गते गृहले भदौ ५ गतेभित्र आफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा यथासम्भव बढी तथ्यसहित उजुरी दर्ता गराउन आग्रह गरेको थियो । गृहले देशैभर मिटरब्याजीको जालो फैलिएको हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै यस्तो आग्रह गरेको थियो । यस अवधिमा विभिन्न जिल्लाहरुमा उजुरी समेत परेको हो ।

मधेस प्रदेशको सर्लाहीमा सबैभन्दा बढी मिटर ब्याजीविरुद्ध उजुरी परेको हो । भदौ ५ गतेसम्ममा यहाँ ४२७ जनाले मिटर ब्याजीविरुद्ध उजुरी दिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले जानकारी दिए ।

यस्तै सिरहामा २८९ जनाले उजुरी दिएको.जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं प्रशासकिय अधिकृत भवेश कुमार झाले जानकारी दिए ।

यस्तै महोत्तरीमा १९१ जनाले मिटर ब्याजी विरुद्ध उजुरी दर्ता गराएका छन् । महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले गृहले निर्धारण गरेको अवधिमा १९१ जनाले उजुरी दर्ता गराएको बताए । उनले उजुरी पुरुषमात्र नभई महिला विरुद्ध समेत परेको बताए ।
धनुषामा १४० वटा मिटर ब्याजी विरुद्ध उजुरी परेको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गृहले निर्धारण गरेको अवधिमा मात्र १४० वटा उजुरी परेको र यसभन्दा पहिला पनि केही उजुरी परेको र अहिलेपनि उजुरी लिइरहेको जानकारी दिए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मिटर ब्याजी विरुद्ध उजुरीदिने अधिकांशसँग प्रमाणहरु नरहेको बताए । उनले जिल्लामा गृहले निर्धारण गरेको अवधिमा ११४ वटा उजुरी परेको बताए । उनले भने, ‘हामीकहाँ ११४ वटा उजुरी परेको छ । धेरैले प्रमाणसमेत जुटाउन सकेको छैन् । गृहले एउटा छानविन समिति गठन गरेको हो, सोहीको निर्देशन अनुसार अगाडिको कदम चालिने हो ।’

यस्तै पर्सामा ८३ जनाले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । यस्तै बारामा ४६ जनाले मिटर ब्याजी विरुद्ध उजुरी दिएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले जानकारी दिए ।

त्यस्तै रौतहटमा सबैभन्दा कम ४१ जनाले मिटर ब्याजी विरुद्ध उजुरी दर्ता गराएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताए ।