जनकपुर, भाद्र १४
अगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै दुई दल मिलेर लोकतान्त्रिक मधेशी फ्रन्ट गठन गरेको छ ।
मंगलबार जनकपुरधाममा संयूक्त पत्रकार सम्मेलनको आयोजना गरि दुबै पार्टीबिच चुनावी तालमेल गर्दै गठबन्धन गरेको हो ।
तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष बृषेशचन्द्र लालले मधेस विद्रोहका मुद्दाहरुलाई सही दिशामा अग्रसर गर्दै संस्थागत गर्न तथा विकासको पारदर्शी स्पष्ट रणनीतिका साथ मधेस र देशलाई संघीयताको कार्यान्वयनलाई अघि बढाउन आन्दोलनकारी लोकतान्त्रिक शक्तिहरूबीच एकवद्ध सहकार्य गरेको बताए । उनले एकजूटताको विकल्प नरहेको ठहरमा पुगेपछि दुबै राजनीतिक दलले आज तराई मधेस लोकतान्त्रिक पार्टी र नेपाल सद्भावना पार्टी सम्मिलित लोकतान्त्रिक मधेशी फ्रन्ट गठन गर्ने निर्णय गरेको जानकारी दिए । लोकतान्त्रिक मधेशी फ्रन्टको नीति तथा कार्यक्रम तयार गर्न, आवश्यक निर्णय र संचालन गर्न परिचालन समितिसमेत गठन गरिएको छ ।
समितिमा तमलोपाको तर्फबाट बरिष्ठ नेता डा. विजय कुमार सिंह, केन्द्रीय सदस्यद्वय रविशंकर कुमार कर्ण र बिभा ठाकुर तथा नेपाल सद्भावना पार्टीको तर्फबाट बरिष्ठ नेता राजेन्द्र प्रसाद सिंह कुशवाहा, सह–महासचिव डा. रविन्द्र कुमार चौधरी (राजेश) र राष्ट्रिय सल्लाहकार समिति सदस्य बालकेश्वर ठाकुरलगायतका नेताहरु छन् ।
लोकतान्त्रिक मधेशी फ्रन्टले मधेस आन्दोलनका मुद्दाहरुप्रति प्रतिवद्ध सबै लोकतान्त्रिक शक्तिहरूलाई एकजूटता अभियानमा सहभागिताका लागि आह्वान गर्ने नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले बताए ।
