जनकपुर, भाद्र १५

धनुषाबाट दुई जना बालिकालाई भारत तर्फ लगिरहेको अवस्थामा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जनकपुरधाम–जयनगर रेलबाट दुई बालिकालाई बेचविखनका लग्दै गरेको आरोपमा पक्राउ परेकाहरुमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका ७ कमलानगर टोलका २६ वर्षीय रूपेश कुमार मिश्र, जनकपुरधाम २३ लादोवेलाका २३ वर्षीय दिल महमद साह र महोतरीको मटिहानी नगरपालिका २ विल्टाहा टोलकी २० वर्षीया रानी भन्ने मुस्कान मण्डल रहेको धनुषा प्रहरीले जनाएको छ।

धनुषाको ईनर्वा रेल्वे स्टेसन हुँदै २ जना बालिकाहरूलाई घर डेराबाट ललाई फकाई भारतको दिल्लीतर्फ वेचविखन गर्ने उदेश्यले लगि रहेको सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय खजुरीबाट खटेके प्रहरी टोलीले २ जना बालिकालाई उद्धार गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बताए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।