जनकपुर, भाद्र १८

अगामी मंसिर ४ गते हुने निर्वाचनले अहिलेदेखि माहौल तातिएको छ । पाँच वर्षसम्म जनतालाई बेवास्ता गर्दै आएका नेताहरु अहिले गाउँघरमा सक्रिय भएका छन् ।

तर जनताले भने पाँच वर्षसम्म भोगेका सास्ती र सांसद तथा मन्त्रीको व्यवहारका कारण सचेत हुँदै जादाँ नेताहरु निर्वाचन क्षेत्र छनोट गर्न अलमलमा परेका छन् ।

प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झा प्रतिनिधिसभा निर्वाचनमा रौतहटको क्षेत्र नम्बर १ बाटै दोहोरिन चाहेका छन् ।

०७४ मा भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कृष्ण यादवलाई हराउँदै सांसद निर्वाचित भएका उनी यस पटक पनि दोहोर्याउने मनस्थितिमा छन् ।

रौतहट क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् ।

उनी पछिल्लो पटक यो क्षेत्रबाट २०७० सालमा निर्वाचित भएका थिए । २०७४ सालमा भने उनी काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । तर मंसिर ४ मा हुने निर्वाचनमा उनी रौतहटबाट उठ्ने तयारीमा रहेको एकीकृत समाजवादी रौतहटका नेताहरुको भनाई छ ।

रौतहटको क्षेत्र नम्बर १ बाट २०७४ सालको निर्वाचनमा २१ हजार ८५ मत प्राप्त गरी अनिल झा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण यादवले १५ हजार ४८४ मत ल्याएका थिए ।

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता शरतसिंह भण्डारी पनि पुरानै क्षेत्रबाट चुनाव लड्ने बताउँदै आएका छन् । नेता भण्डारीले महोत्तरीको क्षेत्र नम्बर २ र महन्थ ठाकुर पनि महोत्तरीको क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारी गरिरहेका छन् ।

सत्तारुढ जनता समाजवादी पार्टी नेपालबाट मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाले समेत महन्थ ठाकुर निर्वाचित भएको क्षेत्रबाट उम्मेदवारी दिने तयारी गर्न थालेपछि पर्ख र हेरको नीतिमा लोसपा नेपाल पुगेको छ ।

स्रोतको अनुसार ठाकुरको उतराधिकारीको रुपमा मुख्यन्यायाधिवक्ता झालाई लिदँै आएका छन् । तर जसपा नेपालबाट ठाकुरको नेतृत्वमा लोसपा नेपाल अलग भएपछि वयोवृद्ध अध्यक्ष ठाकुर भने मुख्यन्यायाधिवक्ताको सवालमा मौनता साध्दैँ आएका छन् ।

२०७४ को निर्वाचनमा भण्डारी ३० हजार ७२२ मत ल्याएर महोत्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका किरण यादवले १३ हजार ९७४ मत ल्याएकी थिइन् ।

त्यस्तै, महोत्तरी क्षेत्र नम्बर ३ बाट महन्थ ठाकुर २७ हजार ५ मतले निर्वाचित भएका थिए । भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नेता विजयकुमार चौधरीले ८ हजार ९७७ मत ल्याएका थिए ।

२०७४ को निर्वाचनमा राजेन्द्र महतोले आफ्नो सर्लाहीको निर्वाचन क्षेत्र छाडेर धनुषाको क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका उनले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए । नेता महतोले ३० हजार ७४२ मत पाउँदा निधिले २७ हजार ८२८ मत ल्याएका थिए ।

तर नेता महतो यसपटक धनुषाको क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने मनस्थितिमा नरहेपनि उन अझैसम्म पनि अलमलमै छन् । काँग्रेसका नेता विमलेन्द्र निधिले समानुपातिक कोटा रोजेपछि पनि महतो भने अहिलेसम्म अलमलमा छन् । ०७४ को निर्वाचनमा तत्कालिन नेकपाको ओली गुटले महतोलाई आन्तरिक सहयोग गरेपछि नेता निधि पराजित भएका थिए ।

धनुषा क्षेत्र नम्बर ३ बाट यस पटक एमालेकी नेतृ जुलीकुमारी महतोले समेत उम्मेवारीको घोषणा गरिसकेकी छन् ।

त्यसैले पनि प्रतिनिधिसभा सदस्य समेत रहेका राजेन्द्र महतो यस पटक आउने मनस्थितीमा नरहेको स्रोतको दावी छ ।

त्यस्तै लोसपा नेता उमाशंकर अरगरिया पुनः धनुषाको क्षेत्र नम्बर २ बाटै उम्मेदवारी दिने तयारीमा छन् । ०७४ सालमा तत्कालिन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार अरगरिया ३२ हजार ४४ मत ल्याएर जित्दा वाम गठबन्धनका उम्मेदवार नेता रामचन्द्र झालाई १८ हजार ७ सय १५ मत ल्याएका थिए ।

तर यस पटक भने अगरगरिया अलमलमा परेका छन् । उनी यसपटक एमालेको सहयोग आफुलाई प्राप्त हुने बताउँदै आएका छन् । नेता अरगरिया भने एमालेमा प्रवेश गर्ने मनस्थितीमा पुगेपनि लोसपा नेपाल वा एमाले रोज्ने विषयमा पर्ख र हेरको अवस्थामा छन् ।

लोसपा नेपालका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल ०७४ को निर्वाचनमा बारा क्षेत्र नम्बर ४ को (ख) बाट प्रदेश सभामा निर्वाचित भए ।

तर यस पटक अहिलेसम्म पनि कहाँबाट उम्मेदवारी दिने सो अझैसम्म पनि क्षेत्र निर्धारण गर्न सकस परेको छ ।

०७४ को निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)का शीर्ष नेताहरु निर्वाचनमा निर्वाचित भएका थिए । त्यतिबेला राजपा नेपालको अध्यक्ष मंण्डलमा रहेका नेतामध्ये राजकिशोर यादव हाल जनता समाजवादी पार्टी (जसपा) नेपालमा र महिन्द्र राय यादव नेपाल समाजवादी पार्टी (नेसपा) मा छन् ।

त्यस्तै जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवलाई अहिलेसम्म बारा, सिरहा र महोत्तरीबाट समेत जिल्ला पार्टीले सिफारिस गरेको छ । तर उनी कहाँबाट उम्मेदवारी दिने अझैसम्म पनि खुलाएका छैनन् ।

गठबन्धनको भरोसामा रहेका नेकपा माओवादी केन्द्रले अझैसम्म पनि निर्वाचनको थालनी गर्न सकेको छैन ।

गठबन्धन भित्रै रहेका नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादीलगायतका दलहरु निर्वाचनको आन्तरिक तयारीमा रहेपनि माओवादी भने गठबन्धनकै भरमा छन् ।

माओवादी केन्द्रले मधेश प्रदेशमा प्रदेश अधिवेशन गरेको वर्ष दिन वित्दापनि प्रादेशिक समिति भने टुंगो लगाउन सकेका छैनन् । जसले गर्दा यस पटकको निर्वाचन मधेश प्रदेशमा कसरी अगाडी बढ्ने कुरामा पनि माओवादी अन्योलमै रहेको माओवादी केन्द्रका नेता श्रवण यादवको भनाई पुष्टि हुन्छ । उनले माओवादीको मधेश प्रदेशको प्रदेश अधिवेशनबाट कार्य समिति अझैसम्म चयन नभएको बताए । उनले मधेश प्रदेशमा माओवादी कसरी अघि बढ्छ भन्ने कुरापनि केन्द्रकै शीर्ष नेतृत्वले गर्ने बताउँछन् । तर अहिलेसम्म पनि उम्मेदवारी छनोटको कुराकानी पनि औपचारिकरुपमा माओवादी भित्र हुन सकेको छैन ।

यता गठबन्धन भित्रका असन्तुष्टी समुहको खोजीमा नेकपा एमाले लागि परेका छन् । पाँच दलीय वीचको गठबन्धन सहकार्य जारी रहेमा सो भित्रका असन्तुष्ट दल वा समुहलाई हरसम्भव पार्टी प्रवेश गराउने योजनामा छन् । अहिले मधेश प्रदेशमा एमालेले पार्टी प्रवेशलाई प्राथमिकता दिएका छन् ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, सिके राउत नेतृत्वको जनमत पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी लगायत साना दलहरु भने आ–आफ्नै किसिमले गठबन्धनको लविंंगमा छन् ।

यदी पाँच दलीय गठबन्धनले अलि पनि ईमान्दारी देखाएमा मधेश प्रदेशमै गठबन्धनलाई कसैले पनि पराजित गर्न सक्ने अवस्था नरहेको राजनीतिक विश्लेषकहरुको भनाई छ ।