जनकपुर, भाद्र १८
मधेश प्रदेश सरकारको मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले राजिनामा दिएको केहि घन्टा भित्रैमा सत्तारुढ जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
यही मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै निवर्तमान मुख्यन्यायाधिवक्ता झाले पदबाट राजिनामा दिँदै औपचारिकरुपमा पार्टी प्रवेश गरेका हुन् ।
तर उनका लागि पार्टी प्रवेश निकै चुनौतीपूर्ण रहेको देखिएको छ । पार्टी प्रवेश गरेपछि उनलाई केही नेता तथा कार्यकर्ताहरुले उनलाई हुटिंग समेत गरेका छन् ।
महोत्तरीको सदरमुकाम समेत रहेको निर्वाचन क्षेत्र नम्बर ३ स्थित जलेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको हातबाट माला र टिका लगाएर पार्टी प्रवेश गरेका निवर्तमान मुख्यायाधिवक्ता झालाई पार्टी प्रवेश असहज र चुनौतीपूर्ण रह्यो ।
पार्टी प्रवेश गरेपछि मन्तव्य दिनका लागि डैसमा गएर माईक समातेर भाषण दिदँै गर्दा उनको माईक काटिदिने र जसपाका केही कार्यकर्ताले उनी बोल्ने क्रममा सिटि बजाएर हो हल्ला गरेर हुटिंग समेत गरेको छ ।
पूर्व मुख्यायाधिवक्ता झालाई बोल्ने क्रममा माईक काटिदिएपछि उनले लोकतन्त्रमा बोल्नेको अधिकार हुन्छ भन्दै माईक काटेर व्यक्तिगत स्वतन्त्रताको अधिकार नखोस्न आग्रह समेत गरेका थिए ।
उनले आफुले घर, परिवार र व्यक्तिगत कैरियर छाडेर राजनीतिमा होमिएकाले आफु जस्तो सुकै संघर्ष गर्न तत्पर रहेको बताए । उनले आफु पार्टीमा जलेश्वर क्षेत्र, मधेश र देश बनाउनका लागि प्रवेश गरेकाले आफ्नो लक्ष्य उदेश्य हासिल गरेरै छाड्ने अठोट रहेको बताए । उनले आफु अबको दिन देखि २५ वर्षसम्म राजनीतिक गर्ने उद्घोष गर्दै उनले भने, ‘मलाई कसैले रोकेर रोकिन्न, म घरपरिवार र व्यक्तिगत कैरियर छाडेर, सर्वोच्च अदालतमा वकालत गर्न छाडेर प्रदेश सरकारलाई सहयोग गरे, र अब म आफ्नो गाउँ, ठाउँ, मधेश र देशका लागि काम गर्न चाहेकाले मलाई कसैले रोकर रोकिन्न, म अगाडी बढि सकेको छु, म संघर्ष गर्न तयार छु ।’
उनले पार्टी भित्रको लडाई र संघर्षलाई स्वीकार गर्दै आफुलाई जेष्ठ नेताहरुले बालबालिका झैँ सिकाउनुपर्ने र आफुलाई सिकाएको र गर्नु पर्ने कार्य भनेको अनुसार गर्न तयार रहेकाले आफु अहिले नर्सरी कक्षामा भर्ना भएको बताए ।

उनले भने, ‘आफुले औपचारिकरुपमा पार्टी प्रैवेश गरेकाले आफुलाई पार्टी भित्रका अनेकन कार्यहरु शैलीहरु थाहा नभएकाले जेष्ठ नेताहरुले आफुलाई सिकाउनुपर्ने भएकाले आफु अहिले नर्सरी कक्षाको विद्यार्थी हुँ, मलाई पढाउनुस्, बाटो देखाउनुस्, म जनताका लागि जलेश्वरको विकासका लागि मटिहानी सहितका अनेकन सडक निर्माण, विकास निर्माणका कार्यका लागि र यस प्रदेशमा उद्योग स्थापनाका लागि तत्पर रहेको र जनताका शिक्षा, स्वास्थ्य, रोजगारका लागि काम गर्न आएको हुँ ।’
उनले यस पटक हुने निर्वाचनमा जसपाले अत्याधिक सिट जित्ने भन्दै उनले यस पटकको प्रधानमन्त्री उपेन्द्र यादव हुने दावी गर्दै यसका लागि पार्टी एकतावद्ध भएर अघि बढ्नुपर्ने बताए । उनले मधेशी मुलबाट उपेन्द्र यादव नै प्रधानमन्त्रीका दावेदावर हुने दावी गरे ।
उनी जसपामा प्रवेश गरेपछि सो क्षेत्रका नेता तथा कार्यकर्ताहरुले उनलाई रुचाएका छैनन् ।
सो क्षेत्रमा निर्वाचनको टिकटकै लागि प्रवेश गरेको भन्दै टिकट दावी गरेका हरिनारायण यादव समुहले हुटिंग गराएको कार्यकर्ताहरुको आरोप छ ।
यस पार्टी प्रवेश कार्यक्रममा लोसपा नेता हरि मण्डलसहित दर्जनौँ नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छन् ।
