जनकपुर, भाद्र १९
मधेश प्रदेश सरकारले बिना कुनै दिर्घकालिन योजनाको संचालनमा ल्याएको कोभिड विशेष अस्पतालको करोडौ रुपैयाको लगानी खेर जाने सम्भावना बढेको छ ।
गत वर्ष असार महिनामा कोभिड १९ संक्रमण तिव्र रहेको बेला जनकपुरधाम मजुेलिया स्थित गुठी संस्थानको जग्गामा मणिपाल शिक्षण अस्पतालले बनाएको भवनमा मुख्यमन्त्री लालबाबु राउतको पहलमा मुख्यमन्त्री कार्यालयबाट कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याइएको थियो ।
सो अस्पतालको निर्माणमा करीब ३९ करोड रुपैया खर्च गरिएको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालनमा रहेको उक्त कोभिड विशेष अस्पताल खाली गर्न मणिपाल शिक्षण अस्पतालले प्रदेश सरकारलाई आग्रह गरेको छ । मणिपाल शिक्षण अस्पतालले आफै त्यसमा साढे ३ सय बेडको अस्पताल सञ्चालन गर्ने भनी प्रदेश सरकारलाई उक्त अस्पताल हटाउन लिखित तथा मौखिक रुपमा आग्रह गरेको छ ।
बतास अर्गनाइजेसन अन्तर्गतको बापो होल्डिङ्सले सञ्चालन गरिरहेको मणिपाल मेडिकल एजुकेसन एन्ड मेडिकल ग्रुपले करीब २२ वर्ष अघि अस्पताल संचालनका लागि तयार गरेको भवनमा जनताले सुलभ दरमा स्वास्थ्य सेवा पाउन भन्ने उद्देश्यले ठूलो लगानीमा प्रदेशकै ठूला अस्पताल खोल्न लागेको हो ।
मणिपाल शिक्षण अस्पताल पोखराका निर्देशक नारायण पौडेलले भने हामीले करीब २०÷२२ वर्ष अघि अस्पताल संचालन गर्ने उद्देश्यले गुठी संस्थानसंग ४९ वर्षको लिजमा जनकपुरधाम मुजेलियामा जग्गा लिई भवन बनायौं तर माओवादी जनयुद्ध र मधेश आन्दोलन सहितका देशको संक्रमणकालिन अवस्थाका कारण संचालन गर्न सकेनौं ।
देशको अवस्था राम्रो भएपछि अस्पताल संचालन गर्न प्रक्रिया शुरु गर्नै लाग्दा कोभिड महामारी आयो सोही बेला मधेश सरकारले आग्रह गरेपछि मानवताको नाताले तत्कालका लागि हामीले सो भवन प्रयोग गर्न दियौं । अब हामी आफ्नै अस्पताल संचालन गर्न लागेकाले प्रदेश सरकारलाई सो भवन खाली गर्न लिखित तथा मौखिक रुपमा आग्रह गरेका छौं उहाँहरु पनि साकारात्मक देखिनु भएको छ ।
पौडेलले भने सामाजिक विकास मन्त्रालयलाई गएको असार २३ गते नै पत्र लेखेर लिखित रुपमा आग्रह गरेका छौं । यसका साथै मुख्यमन्त्री लालबाबु राउत र जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहसँग प्रत्यक्ष भेटघाट गरी सो कोभिड अस्पताल हटाएर भवन खाली गर्न भन्यौं, मुख्यमन्त्रीज्यूले हुन्छ हामी खाली गरिदिन्छौं आश्वासन दिनु भएको छ ।
उनले दुई दशक अघिको परिस्थिति अनुसार मणिपाल ग्रुपले अस्पताल सञ्चालनका लागि भवन निर्माणमै हामी २७ करोड रुपैया खर्च गरिसकेको छ । तर अब वर्तमान अवस्थामा साढे ३ सय बेडको अस्पताल संचालन गर्नका लागि भवन मरम्मत सम्भार र नयाँ भवन थप्नुपर्ने आवश्यकता रहेकाले अझै लगानी थप्नेछु र भवन नजिकै गुठीका खाली रहेका केही जग्गा समेत नयाँ लिजमा लिएको बताउनु भयो ।
मणिपालले आफ्नै अस्पताल संचालनमा ल्याएपछि प्रदेश सरकारले गरेको लगानी त खेर जाने भयो भन्ने प्रसंगमा पौडेलले भने पुर्ण रकम त खेर जांदैन तर भवनमा जिप्सन, मार्बल लगायतका केही सामाग्रीमा क्षति पुग्नेछ तर अन्य प्राविधिक सामाग्री त काम लागि नै हाल्छ । हामीले संक्रमणकालिन अवस्था हेरेर तत्कालका लागि अस्पताल संचालन गर्न भवन दिएका थियौं, ठूलो लगानी गरेर भड्किलो बनायो भने यसमा हाम्रो के गलती ।
प्रदेश सरकारले भवन र जग्गा फिर्ता गरेन भने मणिपालले के गर्ने भन्ने जिज्ञासामा पौडेलले मणिपाल ग्रुपले प्रदेश सरकारलाई तत्कालका लागि मौखिक सहमतिमा भवन दिएका थियौं, हामीले पहिला सरकारसँग आग्रह गरेका छौं, यदि सरकारले फिर्ता गर्न मानेन भने हामी कानूनी बाटो रोज्छौं भने ।
यता प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतसँग सम्पर्क गर्दा उनले कोभिड अस्पताल खाली गर्ने भन्ने त्यस्तो केही कुरा छैन, यस सम्बन्धमा पछि कुरा गर्छौ भनी पन्छिएर कुरा गर्न मानेनन् ।
हुनत एक वर्ष अघि असार २३ गतेका दिन कोभिड अस्पताल उद्घाटन गर्दै मुख्यमन्त्री राउतले यो भवन र जग्गा अब प्रदेश सरकार भयो यसको रेखदेख हामी नै गर्ने भनी फिर्ता नदिने दाबी गरेका थिए ।
उनले भनेका थिए ‘यो अस्पतालसहित गुठी संस्थानसँग मणिपालले दिएको १७ विघा जग्गा प्रदेश सरकारकै अधीनमा रहन्छ, यो मणिपाल शिक्षण अस्पताललाई फिर्ता दिँदैनौँ, ‘कुनै कालखण्डमा गुठीसँग मणिपाल मेडिकल कलेजले लिजमा लिएको थियो । तर, अब खारेज भई यो प्रदेश सरकारको भएको छ ।
गुठी संस्थानको नयाँ ऐनमा स्पष्ट रूपमा लेखिएको छ, गुठीको जग्गामा प्रदेश सरकारको समन्वयमा मात्रै लिजमा लगाउन सकिन्छ भन्ने कुरा मुख्यमन्त्री राउतले भनेको एक वर्षपछि मणिपालले आफ्नो भवन फिर्ता दिन माग गर्न थालेका छन ।
हाल एक सय बेडको भनिएको सो कोभिड अस्पतालमा २० बेड आइसियू, ५५ बेड एचडियू र बाँकी जेनरल बेड रहेको बताइएको छ ।
