जनकपुर, असोज १३

नेकपा एमालेको केन्द्रीय कमिटीका सल्लाहकार समिति सदस्य गंगाराम यादवले औपचारिक रुपमा जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।

४ दिन अगाडी मात्रै एमाले परित्याग गरेको घोषणा गरेका गंगाराम औपचारिक रुपमा जसपामा प्रवेश गरेका हुन् । उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले माला लगाएर पार्टीमा स्वागत गरे ।

धनुषा निर्वाचन क्षेत्र नम्बर २मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिने तयारी गरेका यादवलाई एमालेले टिकेट नदिने भएपछि जसपामा प्रवेश गरेका हुन् ।

गत साता मात्रै एमाले अध्यक्ष केपीशर्मा ओलीले धनुषा २बाट निर्वाचन लडाउने गरी लोसपाका तत्कालिन सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराएपछि यादव असन्तुष्ट भएका थिए । एमालेले उनको नाम यी क्षेत्रबाट एकल सिफारिस गरेको थियो । तर, सोही क्षेत्रमा अरगरिया एमाले प्रवेश गरेसँगै टिकट पाउने सम्भावना नदेखेपछि यादवले एमाले छोडेका हुन् ।

उनी ३० वर्षदेखि एमालेमा आबद्ध थिए । यादव यस क्षेत्रको प्रभावशाली नेता मानिन्छ । पार्टीले पटकपटक आफूविरुद्ध षड्यन्त्र गरेको उनको गुनासो छ ।

टिकेट पाउने अपेक्षामा जसपा प्रवेश गरेका गंगारामलाई त्यहाँ पनि टिकेट पाउने सम्भावना कमै छ । गठबन्धनमा रहेको जसपाको कोटामा धनुषा निर्वाचन क्षेत्र नम्बर २ परेको छैन । गठबन्धन दल भित्र धनुषा २ कांग्रेसलाई दिने लगभग सहमति भई सकेको छ ।