जनकपुर, असोज १३

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लडन पार्टीलाई कुनै बैशाखीको आवश्यकता नरहेको बताएका छन् ।

जसपा धनुषाले शहीदनगरमा आयोजना गरेको पार्टीै प्रवेश कार्यक्रममा अध्यक्ष यादवले विना कुनै वैशाखी सबै क्षेत्रमा चुनाव लडन जसपा सक्षम रहेको उल्लेख गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको बेला जसपाकै पहलमा पाँच दलिय गठबन्धन निर्माण भएको उल्लेख गर्दै अध्यक्ष यादवले मधेशी आदिवासी लगायतका उत्पिडित वर्गको सम्मान हुने गरि सिटको बाँडफाँड भए आफुहरु अझै गठबन्धनको पक्षमा रहेको जिकिर गरे । तर अहिले बजारमा आएको हल्ला जस्तो गठबन्धनमा सिटको बाँडफाँडमा कुनै सहमति नभएको स्पष्ट समेत पारे ।

उनले भने,‘ गठबन्धनमा अहिले सम्म कुनै सहमति भएको छैन, हल्लाको पछाडी नलागौ । ’

आसन्न निर्वाचन अन्य दलहरुको लागि निर्वाचन मात्र भएपनि जसपाको लागि संघर्षको एउटा पडाव मात्र रहेको उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले संविधान सभाबाट जारी भएको त्रुटिपूर्ण संविधानलाई संशोधन मार्फत सही ट्रयाकमा ल्याउन संसदको उपयोग आवश्यक रहेकोले निर्वाचनलाई संघर्षको रुपमा लिन नेताकार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

अहिलेको निर्वाचन प्रणालीले थुप्रै वेथितीहरु निम्त्याएको हुँदा खसी बोका जस्तो सांसदहरु विक्रीहुने प्रणाली लाई अन्त्य गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान समेत संसदबाट संविधान संशोधन आवश्यक रहेकोले निर्वाचनलाई आफुहरुले संघर्षको रुपमा लिएको उनको कथन थियो ।