जनकपुर, असोज १३
मधेस प्रदेशका दुई सांसदसहित नेकपा एकिकृत समाजवादीका ११ जना नेता नेकपा एमाले फर्किएका छन्। एमालेको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा उनीहरू एमालेमा फर्किएका हुन्।
एमाले फर्किनेमा नेकपा एसका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा, निवर्तमान प्रदेश सभा सदस्य एवं केन्द्रीय निर्वाचन आयोग सदस्य सीता गुरुङलगायत छन्। विश्वकर्मा बारा क्षेत्र नं. ४(क) बाट निर्वाचन प्रदेश सांसद र गुरुङ मधेस प्रदेशको निवर्तमान समानुपातिक सांसद हुन्।
त्यसैगरी एमाले फर्किएका अन्यमा केन्द्रीय परिषद् सदस्य कौशल किशोर सिंह, महेश विश्वकर्मा, मधेस प्रदेश कमिटी सदस्य दशरथ राम, विद्या थापा, मिन रहपाल, जिल्ला कमिटी सदस्य मञ्जु खनाल, मञ्जु भट्टराई, अच्छेलाल राम र मुक्ती सहनी रहेका छन्।
नेकपा एमालेबाट छुट्टिएर माधवकुमार नेपालको नेतृत्वमा समाजवादी पार्टी निर्माण भएपछि उनीहरु सोही पार्टीमा सक्रिय रहँदै आएका थिए। समाजवादीको विभिन्न जिम्मेवारी रहँदै आएका उनीहरु अन्ततः एमाले फर्किएका हुन्।
उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका थिए। पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले बाटो बिराएर केही समय अन्यत्र रहेपनि पुनः फर्किने निर्णय लिएकोमा खुसी व्यक्त गरेका थिए। अध्यक्ष ओली पार्टीको काममा सक्रिय भएर लाग्न निर्देशन दिएको कार्यक्रममा सहभागी गुरुङले बताइन्।
जिल्लाका प्रभावशाली नेतासहितको टोली एमालेमा फर्कने तयारी गरेपछि उक्त निर्णय नलिन र पार्टीमै बस्न समाजवादीका केन्द्रीय स्तरका नेताले आश्वासन र दबाब दिएका थिए। तर देशका लागि काम गर्ने पार्टी एमालेबाहेक अन्य नभएको निष्कर्षसहित निर्णय लिइसकेकाले दबाबमा आफहरु नपरेको उनीहरुको भनाइ थियो।
पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली, बाराका अध्यक्ष एवं कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, कोल्हबी नगरपालिकाका पूर्व नगर प्रमुख भरतबहादुर भण्डारीलगायत बाराका नेताहरु सहभागी थिए।
पार्टीको जिल्ला कमिटी अध्यक्षनै एमाले प्रवेश गरेपछि समाजवादीले बिजेन्द्र चौधरीलाई कार्यवाहक अध्यक्ष तोकेको छ ।
