सुत्केरी महिलाको उपचारमा लापरवाही गर्दा मृत्यू
जनकपुर, असोज १५
जनकपुरधाम स्थित एक नीजि होस्पिटलले फेरी एकको ज्यान लिएको छ ।
जनकपुरधामको रामानन्द चोक स्थित नैना हस्पिटलमा चिकित्सकहरुको लापरवाहीका कारण एक महिलाको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित हनुमाननगर बस्ने दिलिप मण्डलकी २८ वर्षीया विद्याकुमारी मण्डलको मृत्यु भएको हो ।
विद्यालाई प्रशव पीडा हुँदा परिवारजनले उपचारका लागि भदौ २३ गते नैना हस्पिटलमा ल्याएको थियो । नैना हस्पिटलमा २४ गते उनको नर्मल डेलेभरि भयो । शिशुको जन्मपछि आमाको पाठेघरबाट अत्यधिक रक्तश्राव हुन लाग्यो । डेलेभरिपश्चात् बिरामीको पाठेघर च्यातिसकेको थियो ।
उनलाई परिवारजनले रगतको व्यवस्था गरी ३१ पोका रगतसमेत चढाइयो । तर पनि उनी गम्भीर अवस्थामा रहेको भन्दै परिवारको सहमतिबिना नै चिकित्सकले उनको पाठेघर हटाइदिए । सोही क्रममा पाठेघरको नली काटियो । त्यसपछि विद्याको अवस्था झन बिग्रिदै गयो ।
मृतकका पति दिलिपले भने, ‘नर्मल डिलेभरिपश्चात् यदि मेरो श्रीमतिको पाठेघरबाट अत्यधिक रक्तश्राव भईरहेको थियो भने अस्पतालले हामीलाई जानकारी दिनुपर्दथ्यो । हामी त्यतिबेला नै बिरामीलाई बाहिर लगथ्यौं । तर, अचानक अवस्था जटिल बनिसकेपछि अस्पतालले हामीलाई जानकारी गरायो ।’

उनले भने, ‘डाक्टरलाई बिरामीको अवस्था ठिक छैन भने अन्यत्र रेफर गरिदिन आग्रह गर्दै आएका थियौँ । तर, ती डाक्टरले उसको अवस्थामा सुधार आइसकेकोले रेफर गर्नु पर्दैन भन्दै आइरहेका थिए,’ दिलिपले अघि थप्दैँ भने, ‘तर, अचानक अवस्था बिग्रेपछि हामी २५ गते बिरामीलाई लिएर हेलिकप्टरमार्फत काठमाडौंको मेडिसिटी अस्पताल पुग्यौं ।’
मेडिसिटी अस्पतालमा २२/२३ दिनसम्म उपचार गराएपनि अन्त्यमा शनिबार बिहान त्यहाँको चिकित्सकले जनकपुरकै हस्पिटलले बिरामीको अवस्था बिगारेकोले त्यहिँ लगेर उपचार गराउन सुझाव दिएको दिलिपले बताए ।
शनिबार बिहान फेरि बिरामीलाई जनकपुरधाम ल्याएर नैना हस्पिटलमै भर्ना गरिएको थियो । तर, बिरामीको अन्तिम अवस्थामा पनि यस अस्पतालका चिकित्सकले उनलाई बचाउने कुनै प्रयास नगरेको दिलिपको दुःखेसो छ । उनले यहाँ आएपछि आफ्नो श्रीमतिको मृत्यु भएको बताए ।

मेडिसिटीमा ३२ लाख रुपैयाँ खर्च भएको उनले सुनाए । उनले आफ्नो जग्गा बन्धकी राखेर सो पैसा ऋण लिएकोसमेत दुःखेसो सुनाए ।
घटना सम्बन्धमा अस्पतालले भने सकेसम्म बिरामीलाई बचाउने सम्पूर्ण प्रयास गरेपनि बचाउन नसकिएको र काठमाडौंमा उपचाररत् रहेको बेला मानवताको नाताले दुई लाख रुपैयाँ सहयोगसमेत गरेको जनाएको छ ।
यता, होस्पिटलको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका परिवारजनले बिहानैदेखि नैना हस्पिटलको अगाडि टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा प्रहरी र मृतकका परिवारजनबिच सामान्य झडपसमेत भएको छ ।
यसअघि गत भदौ १६ गते पनि नैना हस्पिटलको लापरबाहीकै कारण एक नवजात शिशुको जन्मिएको दोस्रो दिनमै मृत्यु भएको थियो ।
