जनकपुर, असोज १६
आज आश्विन शुक्ल सप्तमी तिथि । यो तिथिमा शक्तिपीठहरुमा फूलपाती भित्रयाउने परम्परा रहेको छ ।
दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यतानुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको र दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती भित्रयाउने कार्य गरिने गरिन्छ ।
यस अघि दशैँको छैठौँ दिन बिहिबार शक्तिपीठहरूबाट बाजागााजा तथा भजन कीर्तनका साथ झाँकी निकाली कुनै निर्धारित समयमा गएर बेलवृक्षलाई पूजा गरिएको छ । जसलाई बेलनौती पनि भनिन्छ । पूजापश्चात् एउटै हाँगामा जुधेर फलेको बेल फललाई पहेंलो वा रातो कपडाले बेरेर मन्त्रोच्चार गरी बाँधिन्छ ।
सोही निमन्त्रण दिइएको बेललाई फूलपातीका दिन भित्रयाइने गरिन्छ । दशैँको सातौं दिन अर्थात् सप्तमी तिथिका दिन सो बेल फललाई टिपेर शक्तिपीठहरूमा ल्याई भगवतीका चरणमा राखेर वलि प्रदान गरिन्छ । यो विधिलाई मिथिलाञ्चलमा बेलतोरी भन्ने गरिन्छ । सो बेल माता दूर्गाको सातौ स्वरुप माता कालरात्रीलाई अर्पण गरिन्छ ।
जनकपुरधामको केन्द्रमा पर्ने राजदेवी मन्दिरमा अष्टमीका दिन ठूलो भीड लाग्ने गर्छ । सर्वसाधारणका लागि राजेदेवीको पटद्वार एक दिन अष्टमीमा मात्रै खुल्ने परम्परा रहेकाले सो दिन यहाँ लाखौं भक्तजनको भीड हुन्छ ।
दर्शन तथा पुजा अर्चना गर्नको लागि भक्तजनहरू पाँच किलोमिटरसम्म लाइनमा बसेका हुन्छन् ।
तर राजदेवी मन्दिरमा महिलाको प्रवेशमा रोक लगाइएको हून्छ । मन्दिरका महन्थ राम गिरीका अनुसार महिनावारी भएका महिला पनि मन्दिरमा प्रवेश गर्न सक्ने भएकाले महिलाको प्रवेशमा रोक लगाइन्छ ।
