सिरहा, असोज १९
सिरहामा जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सदस्यसहितका नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।
जसपा नेपालका केन्द्रीय परिषद सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंहलगायतका नेता तथा कार्यकर्ताहरूले सोमबार चोहर्वामा कार्यक्रम गरि पार्टीबाट सामुहिक राजीनामा दिएका हुन् ।
जसपा पार्टी परित्याग गर्नुको मुख्य कारण पार्टीको नेतृत्वकर्ता नै विधि विधानअनुसार नगएर जसपा पार्टी प्राइभेट लिमिटेड पार्टीको रुपमा स्थापना भइरहेकोले सामूहिक राजीनामा दिएको जसपा नेपालका केन्द्रीय परिषद सदस्य रामचलितर साहले जनाए ।
जसपा तानाशाही पार्टी रहेकोले हामी लगायत हजारौंको संख्यामा जिल्ला भरिका १७ वटै स्थानीय तहका कार्यकर्ताहरूले पार्टी परित्याग गरेको बताए ।
जसपा नेपालका संघीय परिषद सदस्य राम चलितर साह, प्रदेश सदस्य मनोज सिंह ,प्रदेश सदस्य विना शर्मा, गोलबजार नगर सचिव ज्ञान कुमार सिंह, वरिष्ठ उपाध्यक्ष बिनोद राई र वरिष्ठ राजनीतिज्ञ राम आशिष राई लगायतका नेता तथा कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् ।
जसपा नेपालका मधेश प्रदेश सदस्य मनोज कुमार सिंह अघिल्लो निर्वाचनमा क्षेत्र न ३ (क) बाट प्रदेश सभा सदस्य र दोस्रो पटकको स्थानीय तह निर्वाचनमा नगर प्रमुखको प्रत्यासी रहेका थिए ।
