जनकपुर, असोज १९

मधेश प्रदेशको लोक सेवा आयोगले सातौँ तहको अधिकृतको नतिजा प्रकाशनमा मनमौजी गरेको छ ।

१८ भदौ २०७९ मा अधिकृत सातौं तहको परीक्षामा रोल नम्बर २ हजार ५६७ सम्मका परीक्षार्थीहरु सहभागी हुने भनेर परीक्षा केन्द्र सार्वजनिक गरेको थियो । सोको लिखित परीक्षाको नतिजा यही असोज १३ गते आउँदा रोलनम्बर २ हजार ५७९ सम्मका परीक्षार्थीहरुको समेत आयो । अर्थात् आयोगले सुरुमा सार्वजनिक गरेको परीक्षार्थीको संख्यामा नतिजा सार्वजनिक हुँदा १२ जना बढी परीक्षार्थी थपिएका थिए र थपिएका सबै लिखित परीक्षामा पास पनि भए ।

सामाजिक सञ्जालमा अहिले लोकसेवा आयोगका परीक्षामा सामेल भएका परीक्षार्थीहरु समेत कतिपयले अनियमितता भएको भनेर टिकाटिप्पणी गर्दै आएका छन् । तर, मधेश प्रदेशको लोक सेवा आयोगका प्रवक्ताले यसलाई स्वाभाविकरुपमा लिनुपर्ने बताएका छन् ।

मधेश प्रदेश लोक सेवा आयोगका प्रवक्ता गंगेश गुञ्जन झाले प्रशासन सेवाको एकीकृत समूहका लागि खुलाइएको अधिकृत सातौं तहको विज्ञापनमा कूल २ हजार ६१८ जनाले आवेदन दिएको जानकारी दिए । उनका अनुसा तीमध्ये ३८ जनाको दरखास्त फाराम विज्ञापनको सूचना अनुसार नभई अस्विकृत भएको थियो । त्यसैले २ हजार ५८० जना परीक्षार्थीका लागि प्रश्नपत्र, हाजिरी र सिट प्लान गरी नामावली सार्वजनिक गरिएको थियो । तर नतिजा सार्वजनिक गर्ने क्रममा भने त्योभन्दा १२ जना बढी परीक्षार्थीहरुको विवरण निकालेको थियो ।

मधेश प्रदेश लोक सेवा आयोगका प्रवक्ता झाले परीक्षाको बेला केही आवेदक थपिएकाले नतिजा बढी प्रकाशन भएको बताए ।

केन्द्रीय लोक सेवा आयोगका एकजना अधिकृतका अनुसार विज्ञापन अवधिमै फारम भर्दा तोकिएको दस्तुरसमेत तिरिसकेको र केही अपुग कागजपत्र लिखित परीक्षा सन्चालन हुनुभन्दा पहिला नै बुझाए पनि त्यस्ता परीक्षार्थीलाई परीक्षामा सहभागी हुन दिने प्रचलन छ ।

उनले मधेश प्रदेश लोक सेवा आयोगको परीक्षामा पनि १२ जना परीक्षार्थी थपिनुमा त्यस्तै कुनै कारण हुन सक्ने बताए ।