जनकपुर, असोज २१

भारतको उत्तरप्रदेश स्थित अयोध्याबाट सुरु भएको धार्मिक रथयात्रा जनकपुरधाममा आईपुगेको छ ।

अयोध्याबाट श्रीराम दिग्विजय रथयात्रा शुक्रबार जनकपुरधाम पुगेको हो ।

भगवान श्रीरामको दिग्विजय रामराज्य रथ यात्रा बुधबार अयोध्याबाट सुरु भएको थियो ।

उक्त रथयात्रा भारत र नेपालको मिलाएर २७ वटा राज्य हुँदै ६० दिनमा १५ हजार किलोमिटरको यात्रा तय गरी जन जागरण गर्ने जनाइएको छ ।

विश्व हिन्दू परिषद तथा अखिल भारतीय सन्त समितिको सहयोगले शक्ति शान्तानन्द महर्षिको तत्वावधानमा करीब ४० जना अनुयायिद्वारा सुरु गरिएको यस रथ यात्रामा ७ वटा सवारी साधनका साथ भगवान श्रीरामको पादुकाका साथै स्वर्ण रथ पनि निकै आकर्षक ढंगले सजाइएको छ ।

शक्ति महर्षिले दिएको जानकारी अनुसार तीन उद्देश्यका साथ यो रथ यात्रा सुरु गरिएको हो । जसमा भारत सरकारसँग इण्डियालाई भारत घोषित गर्नुपर्ने, भारतको शिक्षामा रामायणलाई पनि समावेश गर्नुपर्ने र भारतको असली इतिहास शिक्षामा समावेश गर्नुपर्ने माग गरेको छ ।

विश्वको कल्याणका लागि जुन प्रकारले अश्वमेघ श्रीराम यज्ञको आयोजना गरिएको थियो । सोही प्रकारले साधुसन्तहरुको सानिध्यमा यो रथ यात्रा निकालिएको छ ।

जानकी मन्दिरका सहायक महन्त रामरोशन दास वैष्णवले जनकपुरधाम प्रवेश गरेको यस ऐतिहासिक रथयात्रामा उपस्थित भई यात्रालाई सफल बनाउने सबैमा आभार व्यक्त गरेका छन् ।

त्यस्तै रथयात्रामा सहभागी साधुसन्तहरुलाई जनकपुरधाम उपमहानगरपालिका, माँ जानकी जनकपुरधाम यातायात प्रालि, श्री श्री १०८ श्री महावीर मन्दिर, वडा नम्बर–७ को कार्यालयलगायतकाले जनकपुरधाममा भव्य स्वागत गरेको थियो ।