जनकपुर, असोज २२

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि गठबन्धन तथा चुनावी तालमेलले गर्दा धनुषाका दुई नेता अवसरबाट वञ्चित भएका छन् ।

सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रवेश गरेपछि धनुषाका नेकपा एकीकृत समाजवादी पार्टीबाट रामचन्द्र झा र एमाले तथा जसपाबीचको तालमेलले एमालेका किशोरी साह कमल टिकट पाउन सकेका छन् ।

झा पुर्व मन्त्री हुन भने कमल प्रदेश सभा सदस्य हुन । झाले चुनाव धनुषा क्षेत्र नम्बर २ बाट र कमलले प्रदेश सभा सदस्य तर्फ क्षेत्र नम्बर १ (क) बाट चुनाव लड्ने तयारीमा थिए । सत्ता गठबन्धनको चुनावी तालमेलमा क्षेत्र नम्बर २ कांग्रेसको कोटामा गएपछि झा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने मानसिकता बनाएका थिए । तर सो क्षेत्र पनि लोसपाको प्रवेश संगै झाको हातबाट गुमेको छ ।

सत्ता गठबन्धनको अहिलेसम्मको चुनावी तालमेल अनुसार धनुषा क्षेत्र नम्बर ३ बाट लोसपाका राजेन्द्र महतोले चुनाव लड्नेछ भने क्षेत्र नम्बर २ बाट कांग्रेसका रामकृष्ण यादवले चुनावी प्रतिष्पर्धामा तय भइसकेका छन । धनुषाका अन्य क्षेत्र क्षेत्र नम्बर १ माओवादी र ४ कांग्रेसले नै पाएको हुनाले यी क्षेत्रहरुमा पनि झा समावेश हुने सम्भावना देखिदैन ।

लोसपा गठबन्धनमा नआएसम्म गठबन्धनले धनुषा ३ मा मजबुत उम्मेदवार खोजीमा रहेको सत्ता गठबन्धनबाट नेकपा एकिकृत समाजवादी पार्टीबाट पूर्व मन्त्री समेत रहेका झालाई लडाउने तयारी गरेको थियो ।

महतो धनुषा ३ बाट नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिलाई पराजित गदै २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभामा पुगेको थियो । आउंदो निर्वाचनमा निधि समानुपातिक राजेपछि सो क्षेत्र कांग्रेसको हातबाट गुमेको छ ।

यता एमाले जसपाको गठबन्धनले क्षेत्र नम्बर १ (क) को जसपाको कोटामा गएपछि कमलले टिकट पाउने सम्भावना गुमेको छ । उनले अब टिकट नपाउने भएपछि स्वतन्त्रबाटै उम्मेदवारी दिने निर्णय गरेका छन । उनले भने पार्टीले टिकट दिन्छ भने पर्खाईमा बसेका थिए । तर चुनावी तालमेलमा आफू समावेश हुन नसकेपछि स्वतन्त्रबाटै उम्मेदवारी दिनेछु ।

कुनै पनि क्षेत्रबाट टिकेट पाउन नसकेका नेता झा यसअघि नेकपा एमालेबाट ०५१ सालमा प्रतिनिधि सभाको निर्वाचनमा पहिलो पटक निर्वाचित भएका थिए । भने ०६४ सालको संविधानसभाको चुनावमा समेत नेकपा एमालेबाट नै निर्वाचित भएका थिए ।