काठमाण्डौ, असोज २२

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि भोलि अर्थात आईतबार हुने प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताको काम निर्धारित समयभित्रै गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

शनिवार पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कार्यक्रम परिवर्तन गर्न सुझाव आए पनि आयोगले पूर्वनिर्धारित कार्यक्रममा परिमार्जन नगर्ने बताए ।

स्थानीय तहको निर्वाचन, समानुपातिक तर्फको उम्मेदवारी दर्ताका लागि २ दिनको समय दिएजस्तै प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताका लागि पनि समय बढाउन माग गरिएपनि आयोगले समय थप नगर्ने स्पष्ट पारे ।

उनले भने, ‘असोज २३ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नुपर्ने हुन्छ । त्यसैका लागि आयोगले आवश्यक संरचना, सुरक्षा प्रणालीको गरिसकेको छ । सबै राजनीतिक दलहरूलाई सबै वर्ग, जाती समेटिने गरी समानुपातिक ढंगले उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोग आग्रह गर्दछ ।’

विगतमा २ दिन उम्मेदवारी दर्ता गर्ने समय दिँदा पनि दलहरू दोस्रो दिनको अन्तिम समयमा आएर उम्मेदवारी दर्ता गर्ने गरेको आयोगको अनुभव रहेको बताउँदै निर्वाचन कार्यक्रम सार्ने अवस्था नरहेको उनले प्रस्ट्याए ।

उनले उम्मेदवारी दर्ता गर्नका लागि कुनै वाधा आएमा आयोगले सहयोग गर्ने बताए ।

उनले निर्धारित समयमा उम्मेदवारी दर्ता गर्नका लागि आग्रह गर्दै मनोनयन दर्ता स्थलमा २५ जनाभन्दा बढीको जुलुस लैजान नहुने बताए ।