जनकपुर, असोज २२

सत्तारुढ गठबन्धनसँग भएको तालमेल अनुसार लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा तर्फ सात वटा सिट पाएको छ ।

८ वटा सिटमा दावी गरेपनि लोसपा नेपालले अन्तिमसमयमा सात वटा सिट मात्रै पाउन सकेको छ भने राजेन्द्र महतोले गठबन्धनसँग मित्रवत् प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता उनलाई आईपरेको छ ।

सप्तरी १ मा जयप्रकाश ठाकुुर, धनुषा ३ मा अनिलकुमार झा, महोत्तरी २ मा शरदसिंह भण्डारी, महोत्तरी ३ मा महन्थ ठाकुर, सर्लाही १ मा रामप्रकाश चौधरी, सर्लाही २ मा राजेन्द्र महतो, बारा ३ मा प्रमोद गुप्ता र पर्सा १ मा लक्ष्मणलाल कर्ण उम्मेदवार भएका छन् ।

सत्ता गठबन्धन र लोसपाबीच सर्लाही २ मा मित्रवत् प्रतिस्पर्धा हुने सहमति भएको छ । सर्लाही २ मा सत्ता गठबन्धनबाट माओवादीको चुनाव चिन्ह लिएर नेपाल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष महिन्द्रराय यादव उम्मेदवार छन् ।
त्यस्तै सत्ता गठबन्धनमा लोसपा नेपालका वरिष्ठ नेता महतोले मात्र साथ नपाउने भएका छन् ।

महतोले ०७४ मा चुनाव जितेको धनुषा– ३ अनिलकुमार झालाई छाडेर उनी सर्लाही २ मा उम्मेदवार बनेका छन् ।
त्यस्तै ०७४ मा रौतहट १ बाट जितेका झा धनुषा–३ मा सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका छन् । रौतहट १ मा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल उम्मेदवार बन्ने भएका छन् ।