काठमाण्डौ, असोज २३

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज बिहान १० बजेदेखि साँझ ५ बजेभित्रसम्म उम्मेदवारी मनोनयन दर्ता गराउन दलहरूलाई आग्रह गरेका छन् ।

उनले उम्मेदवारी दर्ता गर्नका लागि उम्मेदवारको भौतिक उपस्थिति कानुनले आवश्यक नठानेको स्पष्ट पारेका छन् । वारेस मार्फत पनि गर्न उम्मेदवारी दर्ता गराउनसक्ने व्यवस्था गरिएको उनले बताए ।

उनले भने, ‘उम्मेदवारी दर्ताका लागि आवश्यक पर्ने दलको आधिकारिक पत्र, निस्सा, वारेसनामा समस्या आएमा आयोगको केन्द्रीय कार्यालयबाट सम्बन्धित सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाउन आयोग सहयोग गर्न तयार रहेको छ । यसका लागि आयोगले सचिवालयलाई भनिसकेको हुनाले राजनीतिक दलले आयोगको तर्फबाट पाउनुपर्ने सहयोग अवश्य पाउनुहुन्छ ।’

निर्धारित समयमा उम्मेदवारी दर्ता गर्नका लागि मनोनयन दर्ता स्थलमा २५ जनाभन्दा बढीको जुलुस लैजान नहुने आयोगले दलहरुलाई सचेत गराईसकेको छ ।