जनकपुर, असोज २३
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको लागि उम्मेदवारहरुले मनोनयन दर्ता धमाधम गराउन थालेका छन् ।
धनुषासहित देशभर नै मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा पुगेर आकांक्षी उम्मेदवारहरुले मनोनयन दर्ता गराउन थालेका हुन् ।
नेपाल पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष समेत रहेका जसपाका पूर्व केन्द्रिय सदस्य उमेश साहले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्ररुपमा उम्मेदवार दिएका छन् । त्यस्तै मिलनकुमारी साहले पनि स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।
स्वतन्त्ररुपमा उम्मेदवारी दिएकी मिलनकुमारी साहले जनकपुरधाम बुद्धत्व प्रात्तिको स्थल रहेपनि कसैले वास्ता नगर्दा आफुले उम्मेदवारी दिएको बताईन् ।
त्यसैगरी नेपाल मजदुर किसान पार्टीबाट नेता रामहृदय साहले पनि प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् ।
त्यस्तै धनुषा–३ (ख) बाट तराई मधेश लोकतान्त्रिक पार्टीबाट असगर अलीले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
त्यस्तै धनुषा–१ मा सत्ता गठबन्धनबाट पूर्वमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादव, एमाले–जसपा गठबन्धनबाट जसपा नेपालका नेता दिपक कार्की, धनुषा–२ मा एमालेबाट उमाशंकर अरगरिया, जसपाबाट गंगाराम यादव, नेपाली काँग्रेसबाट पूर्वमन्त्री रामकृष्ण यादव, धनुषा–३ मा गठबन्धनबाट लोसपाका नेता अनिलकुमार झा र एमालेबाट जुलीकुमारी महतो र धनुषा–४ मा गठबन्धनबाट काँग्रेसका नेता समेत रहेका पूर्वमन्त्री महेन्द्र यादव र एमालेबाट पूर्वमन्त्री रघुवीर महासेठले उम्मेदवारी दर्ता गराउँदै छन् ।
