जनकपुर, असोज २३
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता शरतसिंह भण्डारीबिरुद्ध तमलोपाले महोत्तरीको विभिन्न क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् ।
लोसपा नेपालका अध्यक्ष ठाकुरले महोत्तरी क्षेत्र नम्बर–३ मा उम्मेदवारी दर्ता गराएका छन् । उनी विरुद्ध उनका पूर्व सहकर्मीसमेत रहेका नवगठित तमलोपाका अध्यक्ष बृषेशचन्द्र लालले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, लोसपाका नेता शरतसिंह भण्डारीले महोत्तरी–२ बाट उम्मेदवारी दर्ता गराएका छन् भने उनका विरुद्धमा तमलोपाका बरिष्ठ नेता डा. विजयकुमार सिंहले उम्मेदवारी दिएका हुन् ।
सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको लोसपाले पाँच दलीय गठबन्धनबाटै सो क्षेत्रमा अध्यक्ष ठाकुर र महोत्तरी– २ मा भण्डारीलाई उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि २०७४ को निर्वाचनमा लोसपा अध्यक्ष ठाकुर महोत्तरी–३ बाट र नेता भण्डारी महोत्तरी–२ बाट प्रतिनिधि सभा सदस्य बनेका थिए ।
प्रदेश सभातर्फ लोसपाबाट महोत्तरी ३ (क) मा अभिराम शर्मा र ३ (क) मा रानी शर्मा तिवारीले उम्मेदवारी दर्ता गराएका छन् । तर ३ (क) मा भने माओवादीबाट रामकुमार शर्माले समेत उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै तमलोपाबाट प्रदेश सभा २ (१) मा इद्रीश राईन र २ (ख) मा रामकृपाल साहले उम्मेदवारी दिएका छन् ।
