सप्तरी, असोज २५
मधेस प्रदेशमा सबैभन्दा बढी रोेचक भिडन्त हुने क्षेत्रमध्ये सप्तरी २ पनि हो । यहाँ दुई मधेसकेन्द्रित दलका अध्यक्षबिच प्रतिस्पर्धा हुने भएको छ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरी २मा मनोनयन दर्ता गराएपछि यहाँको चुनावी प्रतिस्पर्धा रोचक हुने भएको छ ।
यादव र राउतका बिच सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जयप्रकाश ठाकुरलाई समेत मजबुत उम्मेदवारको रुपमा हेरिएको छ । सप्तरी २मा सत्ता गठबन्धनबाट ठाकुरको उम्मेदवारीले यहाँको चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।
२०७४ सालको प्रतिनिधसभा निर्वाचनमा जसपा अध्यक्ष यादवले २१ हजार ६ सय २० मत ल्याएर माओवादी केन्द्रका नेता उमेशकुमार यादवलाई पराजित गर्दै निर्वाचित भएका थिए । उमेशले ११ हजार ५ सय ८० मत मात्रै ल्याउन सकेका थिए । यता अहिले सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका लोसपा नेता ठाकुरले १० हजार बढी मत प्राप्त गरेका थिए । त्यसैले पनि ठाकुरलाई समेत त्यहाँका स्थानीय मजबुत उम्मेदवारको रुपमा लिई रहेका छन् । यद्यपी सप्तरी २मा जसपा अध्यक्ष यादव र जनमतका अध्यक्ष राउत बिच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
गत स्थानीय तहको चुनावमा वडा तहमा पाएको मतलाई आधार मान्ने हो भने जसपा सप्तरी २ मा सबैभन्दा मजबुत पार्टी हो । वडामा जसपाले १४ हजार ४सय ३ मत पाएको थियो भने कांग्रेसले १० हजार ८सय ७ र लोकतान्त्रिक समाजवादी पार्टीले १० हजार ४ सय ३५ मत पाएको थियो ।
माओवादी केन्द्रले ९ हजार ५सय ३४, एमालेले ५ हजार ९५१ मत पाएको थियो । राउतको जनमत पार्टीको ४ हजार ५४२ मत थियो । तर सत्ता गठबन्धनले ईमान्दारिता देखाए लोसपाका नेता ठाकुर यी दुई नेताबिचको चुनावी प्रतिस्पर्धामा जीत निकाल्न सक्ने सम्भावनालाई समेत नकार्न सकिदैन । यस अर्थमा जसपा अध्यक्ष यादवका लागि राउत मात्र नभई ठाकुर पनि ठूलो चुनौतीको रुपमा देखिएका छन् ।
जनमत पार्टीका अध्यक्ष राउतका लागि भने यो चुनाव सबैभन्दा बढी चुनौतीको रुपमा देखिएको छ । पहिलो पटक चुनावी प्रतिस्पर्धामा उतरिएका राउतसंग चुनावी अनुभव समेत कम रहेकाले राउतका लागि यो चुनाव ठूलै परिक्षाको रुपमा रहेको राजनीतिका जानकारहरु बताउँछन् ।
