जनकपुर, असोज २६
नेकपा एमाले र जसपाबिचको गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा धनुषा–३ की उम्मेदवार जुलीकुमारी महतोको उम्मेदवारी विरुद्ध परेको उजुरीमाथि आज बैठक बस्दै छ ।
निर्वाचन आचारसंहीताको उल्लंघन गरेको भन्दै एमाले नेतृ महतोको उम्मेदवारी खारेज गर्नु पर्ने माग गर्दै उजुरी परेको हो ।
उनले धनुषा क्षेत्र नम्बर–३ प्रतिनिधिसभा तर्फ सि.नं. १० मा दर्ता रहेका स्वतन्त्र उम्मेदवार जीवन साह तेलीले पेश गरेको सि.नं. ११ मा दर्ता रहेका नेकपा एमालेका उम्मेदवार जुलीकुमारी महतोविरुद्ध कारवाही गरी पाउँ भन्ने विषयक उजुरी पत्र निर्वाचन आचारसंहिता २०७९ को दफा १३ सँग सम्बन्धित देखिएको हुँदा निर्वाचन आचारसंहिता २०७९ को दफा ३० बमोजिमको जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा पेश गर्ने निर्णय भएको जानकारी दिए ।
धनुषा–३ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएकी जुलीले मनोनयन दर्ता गराउने क्रममा निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो ।
धनुषा–३ बाट नै सिरहाको मिर्चैैया नगरपालिका वडा नम्बर १७ बस्ने प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार जीवन साह तेलीले महतोविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषामा आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी दिएका थिए ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि धनुषा–३ मा जसपा–एमाले गठबन्धनबाट पूर्वमन्त्री महतोसहित ३१ जना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।
