जनकपुर, असोज २७
नेकपा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गरेको छ ।
बुधबार बसेको गठबन्धनको बैठकले रौतहट क्षेत्र नम्बर–३ मा स्वतन्त्र उम्मेदवारी दिएका साहलाई समर्थन गर्ने निर्णय गरेको हो ।
जनता समाजवादी पार्टी (जसपा) सँग गठबन्धन गरेको विरोधमा एमालेबाट टिकट पाए पनि साहले रौतहट–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
गठबन्धनले उनलाई समर्थन गर्ने निर्णय गरेपछि त्यस क्षेत्रबाट माओवादीका उम्मेदवार धिरज पटेलले उम्मेदवारी फिर्ता लिएका छन् ।
साहको स्वतन्त्र उम्मेदवारीलाई नेकपा माओवादी केन्द्र रौतहटले पनि समर्थन गर्ने निर्णय गरेको छ ।
टिकट पाएर साहले अन्तिम समयमा स्वतन्त्र उम्मेदवारी दिएपछि त्यो क्षेत्रमा एमालेको उम्मेदवारी दर्ता हुनसकेको छैन ।
पार्टीको निर्णयविपरित अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वेच्छाले जसपासँग तालमेल गरेको भन्दै साह असन्तुष्ट बनेका छन् ।
तालमेलप्रति विरोध जनाउँदै उनले मधेस प्रदेसमा जसपाका उम्मेदवार भएको क्षेत्रमा आफूनिकटलाई स्वतन्त्र उम्मेदवारी दिन लगाएका छन् ।
