काठमाण्डौ, असोज २८

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को वार्षिक परीक्षा चैत दोस्रो सातादेखि सुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका अनुसार २०७९ को चैत दोस्रो सातादेखि एसईई परीक्षा हुने भएको छ ।

यसको नतिजा भने २०८० को असार तेस्रो हप्ताभित्र प्रकाशन गरिने कार्यतालिका रहेको जनाइएको छ ।

परीक्षा सञ्चालन जिल्ला÷प्रदेश÷परीक्षा नियन्त्रण कार्यालयले संयुक्त रूपमा लिनेछ भने सो परीक्षाको नतिजा प्रकाशन गर्ने काम चाही बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले गर्नेछ ।

माघको पहिलो सातामा परीक्षाको समय तालिका प्रकाशन गरिनेछ भने प्रयोगात्मक परीक्षाको अंक र अयोग्य विवरण फागुन मसान्तभित्र केन्द्रिय कार्यालयमा पठाइसक्नुपर्नेछ । पुरक परीक्षा भने २०८० को साउन मसान्तमा हुनेछ ।

कक्षा ९ को विद्यार्थी रजिष्ट्रेशन सम्बन्धी नयाँ व्यवस्था गरिने भएकाले प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिसँग समन्वय गरी समय तालिकापछि प्रकाशन गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

बोर्डले यसअघि पनि कक्षा ११ र १२ को वार्षिक परीक्षाको कार्यतालिका सार्वजनिक गरेको थियो ।

कक्षा १२ को वार्षिक परीक्षा भने २०८० को वैशाख दोस्रो सातादेखि गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।