रौतहट, असोज २८

नेकपा एमालेका स्थायी समिति सदस्य प्रभु साहले पार्टी भित्र विद्रोह गरेपछि एमालेले रौतहटमा जिल्ला कमिटी विघटन गरेको छ ।

एमालेको मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जिल्ला कमिटी अध्यक्ष त्रिभुवन साह लगायत केही व्यक्तिहरुले पार्टीविरोधी गतिविधिमा लागेकाले जिल्ला कमिटी विघटन गरेको जनाएको छ ।

एमालेले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका स्थायी समिति सदस्य प्रभु साहलाई पनि कारवाही गरेको छ । एमालेका महासचिव शंकर पोखरेलले पनि एक विज्ञप्ति जारी गर्दै नेता साहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको जनाएका छन् ।

त्यस्तै प्रभु साहसँगै जिल्ला इज्चार्ज उपेन्द्र साह र सहइन्चार्ज कुन्दनप्रसाद कुशवानलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

जिल्ला पार्टीका शिर्ष नेतृत्वलाई कारवाही गरेपछि एमालेले जिल्ला सह इन्चार्ज उद्धव रेग्मीलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको जनाएको छ ।