जनकपुर, असोज २९

मधेश प्रदेशसहित मुलुकभर नै निर्वाचन केन्द्रित गतिविधिहरु ह्वात्तै बढ्न थालेको छ ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दर्ता गराएसँगै उम्मेदवारहरुले घरदैलो अभियानलाई तिव्र पारेको छ ।

सोही क्रममा जनमत पार्टीका नव नेता डा. प्रसन्न झा समेत चिकित्सकीय पेसालाई थाती राख्दै अहिले प्रदेशसभा सदस्यका लागि मत माग्दै घरदैलो अभियानमा व्यस्त छन् ।

मधेस प्रदेशको धनुषा ३ (क)मा जनमत पार्टीबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका डा. प्रसन्न झाले घरदैलो कार्यक्रम शुरु गरेका छन् ।
धनुषा ३(क) प्रदेशसभा सदस्यका उम्मेदवार झाले धनौजी वडा नम्बर २बाट घरदैलो कार्यक्रम शुरु गरेका हुन् । घरदैलो कार्यक्रम शुरु गर्नुुपूर्व उनले इठरवा मन्दिरमा पूजा अर्चना गरेका थिए ।

धनौजी वडा नम्बर २मा पार्टीको निर्वाचन प्रचार प्रसार कार्यालयको उदघाटन गर्दै मत माग्न उनी जनता माझ पुगेका थिए । आफ्नो पक्षमा मत माग्दै उम्मेदवार झाले आफ्नो मनमा चिकित्सक पेशाबाटै सेवा भाव जागृत भएको बताए । उनले भने ‘चिकित्सकिय पेशमा आवद्ध रहिरहँदा बिरामीहरुलाई गरेको सेवाबाटै प्रेरित भएर राजनीतिमा लाग्न अभिप्रेरित भएँ ।’

आफ्नो प्रदेशमा स्वास्थ्य सेवाको खस्कदो अवस्थालाई देखेर नै आफू चिन्तित भएको र त्यसमा सुधार ल्याउने उद्देश्यले राजनीतिमा लाग्ने निर्णय गरेको स्पष्ट गरे । मधेस प्रदेशमा स्वास्थ्यको स्थिति जर्जर छ नै त्यसमाथी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य सेवा प्रदान गर्नुभन्दा राजनीतिको अखाडा बनेकोमा आक्रोश व्यक्त गरे ।

उनले आफू निर्वाचित भए स्वास्थ्य संस्थामा सुधार ल्याउनुका साथै स्वास्थ्य सेवामा सुधार ल्याउनका लागि समेत प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।