जनकपुर, असोज २९
सत्तारुढ गठबन्धनले जनकपुरधाममा नगर स्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको छ ।
गठबन्धनले शनिबार चुनाव प्रचार प्रसारलाई लक्षित गरी नगर स्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको हो ।
भेलालाई सम्बोधन गर्दै धनुषा निर्वाचन क्षेत्र नं. ३का प्रतिनिधीसभा सदस्यका उम्मेदवार अनिलकुमार झाले कांग्रेसीजनलाई बिरानो नबुझ्न आग्रह गरेका छन् । नेता झाले आफु एक काँधमा लोकतन्त्र र एक काँधमा मधेशवाद बोकेर कांग्रेसबाटै राजनिति थालेका गजेन्द्रनारायण सिंहको शिष्य रहेको र महन्थ ठाकुर जस्ता लोकतन्त्रवादी नेता नेतृत्वको पार्टीको नेता रहेको कुरा बुझेर बिरानो नबुझन आग्रह गरे ।
उनले आफु गठबन्धन प्रति प्रतिबद्ध रहेको समेत बताए । उनले अहिले लोकतन्त्रको रक्षाका लागि गठबन्धन भएको समेत दावी गरे ।
भेलामा धनुषा क्षेत्र नम्बर–३ को प्रतिनिधि सभा सदस्य पदका गठबन्धनका साझा उम्मेदवार अनिलकुमार झा, ३(क) तर्फ प्रदेश सभा सदस्यका उम्मेदवार राम सरोज यादव र ३(ख) का उम्मेदवार परमेश्वर साहलगायतकाहरुको उपस्थिति रहेको थियो ।
गठबन्धनले यसअघि आजै धनुषाको नगराईन नगरपालिकामा पनि कार्यकर्ता भेलाको आयोजना गरेको थियो ।

