जनकपुर, असोज २९
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि धनुषा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका जनता समाजवादी पार्टी नेपालका पुर्व नेता साधुराम यादवले आफ्नो उम्मेदवारी फिर्ता लिदँै पाँच दलीय गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादवलाई समर्थन गरेको छ ।
शनिबार एक पत्रकार सम्मेलन आयोजन गर्दै नेता साधुराम यादवले उम्मेदवारी फिर्ता लिदैँ पूर्वमन्त्री समेत रहेका उपमहासचिव मातृकाप्रसाद यादवलाई समर्थन गरेको हो ।
साधुराम यादवले मातृकाप्रसाद यादवलाई समर्थन गर्दै भने, “प्रतिगामी गठबन्धनको बिरुद्ध अग्रगामी वाम लोकतान्त्रिक गठबन्धनले जित्नुले पर्छ । अनि मात्रै संविधान, संघीयता, समावेशी समानुपातिक प्रणालीको रक्षा हुन्छ । देशमा सुशासन कायम हुन्छ ।”
धनुषाधाम वडा नम्बर १ बस्ने नेता साधु यादव जसपा नेपाल एउटै हुँदा राजनीतिक समितिको सदस्य थिए । जसपा नेपालबाट डा. बाबुराम भट्टराई पक्ष अलग भएपछि नेता साधु यादव अहिले स्वतन्त्र भइ सक्रिय छन् ।
धनुषा क्षेत्र नम्बर १ मा वाम लोकतान्त्रिक गठबन्धनबाट पूर्वमन्त्री मातृकाप्रसाद यादव, एमाले–जसपा गठबन्धनबाट दिपक कार्की, जनमत पार्टीबाट किशोरी साहलगाएत उम्मेदवार मैदानमा छन् ।
सबै उम्मेदवारले आफ्नो प्रतिस्पर्धा नेता मातृकाप्रसाद यादवसँगै हुने दावी गर्दै आएका छन् ।
