जनकपुर, असोज ३०
नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय उपाध्यक्ष सिपी गजुरेलले गठबन्धनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असफल बनाएर लुटतन्त्र बनाएको आरोप लगाएका छन् ।
आइतबार जनकपुरधाम स्थित जनकपुर एयरपोर्टमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष गजुरेलले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नाममा राजनीतिक संसदीय राजनीतिक गर्ने दलहरुले भागवण्डाको राजनीति गरेर जनताप्रतिको उत्तरदायित्व नरहेको समेत बताए ।
देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष समेत रहेका नेता गजुरेलले अहिलेको राजनीतिक दलका नेताहरुमा लोकतान्त्रिक गणतन्त्रको मुल मर्म र आदर्शसमेत त्याग गरेको बताए ।
उनीहरुले अंशवण्डा र भागवण्डाको राजनीतिक गरेर मुलुकमा अस्थिरता निम्त्याउँदै व्यक्तिवादी राजनीतिक गर्न चाहेकाले देशमा वैदेशिक हस्तक्षेप ह्वात्तै बढेको प्रति चिन्तासमेत व्यक्त गरे ।
उनले मुलुकमा बहुदलीय व्यवस्था भनिएपनि बहुदलीय प्रतिस्पर्धा नहुनु र र पार्टीगत हिसाबले सरकार बनाउनुपर्नेमा व्यक्तिगतरुपमा एकले अर्काको पार्टीको चिन्ह र नेताको प्रचार गरेर मुलुकमा व्यक्तिवादी हावी हुँदै गएको बताए ।
उनले भने, ‘गठबन्धनको नाममा लोकतान्त्रिक गणतन्त्र मुलुकमा रहेन, पार्टीगत हिसाबले सरकार बनाउने खेल हुन्छन्, तर यहाँ त्यो पनि भएन, स्थानीय तहको निर्वाचनमा पनि शेरबहादुर देउवाले चितवन पुगेर प्रचण्डको छोरीको मत माग्दै गोलाकार भित्रको हसिया हथौडामा मतदान गर्न भन्ने र प्रचण्डले पनि अर्को क्षेत्रमा पुगेर गाछीको मत माग्ने, जसले गर्दा जनताले अहिले पार्टी भन्दा पनि कुन गठबन्धनको हो भनेर उम्मेदवारलाई नै सोध्ने गरेको छ ।’
उनले अघि थप्दैँ भने, ‘लोकतान्त्रिक व्यवस्था पार्टीले निर्वाचनमा सहभागी हुने हो, तर यहाँ पहिला नै अंशवण्डा र भागवण्डा गरेर पार्टीको अस्तित्वपनि समाप्त पार्ने गरि संसदीय व्यवस्थामा राजनीतिक दलहरु लागि परेका छन् ।’
निर्वाचनमा पार्टीले ल्याएको परिणाम अनुसार सरकार बनाउनका लागि गठबन्धन हुनुपर्ने भन्दै उनले भने, ‘तर अहिले भने पहिला दलहरुले भागवण्डा गर्ने अनि सरकार बनाउँदा दलहरु जनताप्रतिको उत्तरदायित्व देखिएन ।’
नेता गजुरलेले राजनीतिक दलहरुको व्यक्तिगत स्वार्थकै कारण हामीले बहिष्कारको अभियानलाई तिव्र पारेको बताउँदै उनले जनताले बहिष्कार हामी किन गरेको भनेर बुझ्न थालेकाले जनताले अब नयाँ अनुहार वा स्वतन्त्र व्यक्तिलाई जिताउनुपर्छ भनेर अभियान पनि चलाउन थालिएको बताए ।
उनले संसदीय राजनीतिक दलहरुले एमसीसी पारित गरेर मुलुकलाई कुरुक्षेत्र बनाउन खोजेको भन्दै उनले भने, ‘पहिला मुलुकमा भारतीय हस्तक्षेप हुदैँ आएको थियो, तर संसदबाट एमसीसी पारित भएपछि मुलुकमा अमेरिकी हस्तक्षेप पनि बढेको र जुनसुकै बेला पनि चीन र अमेरिकाले नेपालको भुमिलाई कुरुक्षेत्रमा परिणत गर्न खेल संसदीय दलका नेताहरुले गरेको छ ।’
संसदीय दलका नेताहरुकै कारण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई आफु अनुकुल दुरुपयोग गर्दा मुलुकमा शान्ति सुरक्षाको असफलता, निर्मला पन्थको हत्यारा पत्ता लगाउन नसक्नु, यूवालाई रोजगारी दिन नसक्नु, जनतालाई सहज र सुलभढंगले स्वास्थ्य र शिक्षा दिन नसक्नु, कृषिमा पनि परनिर्भरता हुनु, गरिबी बढ्दै जानु, विकासको नाममा जनता ठगिनुले पनि संविधान त्रुटीपूर्ण रहेको भन्ने कुरा जनताले बुझेको उनको भनाई छ ।
