काठमाण्डौ, असोज ३०
नेकपा माओवादी केन्द्रले आउँदो मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर मातहतका कमिटीमा ३ बुँदे सर्कुलर पठाएको छ ।
माओवादी केन्द्रले पार्टीको प्रदेश समिति र जिल्ला समितिका इन्चार्ज, अध्यक्ष एवम् संयोजकलाई सम्बोधन गरेर अध्यक्ष प्रचण्डले आइतबार पठाएको सर्कुलरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी दुबै एउटै चुनाव चिह्न गोलाकार भित्रको हँसिया हथौडा रहेको स्मरण गराउँदै सबै प्रदेश तथा जिल्लाहरूले आपसी सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।
दुबै पार्टीका प्रदेश, जिल्ला तथा स्थानीय स्तरका नेतृत्वका बीचमा विशेष समन्वय संरचना निर्माण गर्नका लागि पनि अध्यक्ष प्रचण्डले सर्कुलरमार्फत निर्देशन दिएका छन् । त्यस्तै गठबन्धनका निर्वाचनसँग सम्बन्धित सबै कार्यक्रमहरूमा सम्भव भएसम्मका प्रदेश र जिल्लामा दुबै पार्टीका प्रतिनिधित्व हुने गरी एकरुपतामा सहभागी हुन पनि प्रचण्डले निर्देशन दिएका छन् ।
त्यस्तै पाँच दलीय गठबन्धनको असोज २७ गते भएको निर्णय अनुसार अघि बढ्न माओवादीले मातहतका कमिटीलाई निर्देशन पनि दिएको छ ।
गठबन्धनका तर्फबाट संयुक्त अपिल प्रकाश गर्न समिति गठन गर्ने, गठबन्धनका दलहरूलाई प्रभावकारी रुपमा परिचालन गर्न केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन परिचालन समन्वय समिति गठबन्धन गर्ने, जिल्लाको आवश्यकता अनुसार गठबन्धनका दलहरुबीच छलफल गरी आवश्यकता अनुसारका अन्य समितिहरु गठन गर्ने र सातै प्रदेशमा गठबन्धनका शीर्ष नेताहरु सहभागी हुनेगरी कात्तिक ४ देखि ७ गतेसम्म संयुक्त भेला आयोजना गर्ने निर्णय गरिएको जनाइएको छ ।
