सर्लाही, असोज ३०
सर्लाहीमा एक यूवा–यूवतीले गाउँ छाडेर भागेपछि गाउँमा तनाव उत्पन्न भएको छ ।
सर्लाहीको चन्द्रनगरमा एक जोडी (युवक र युवती) घर छाडेर सँगै भाग्दा गाउँमा तनावको अवस्था सिर्जना भएको हो ।
चन्द्रनगर गाउँपालिका वडा नम्बर २ स्थित बबरगन्ज गाउँका २२ वर्षीय राजिब यादव र सोही ठाउँकी साह थरकी २० वर्षीया एक युवती दुई साताअघि आफूखुसी प्रेम बिवाह गरी गाउँ छाडेर भागेका थिए ।
प्रेम सम्बन्धमा रहेका युवक र युवती बिवाह गर्ने भन्दै गाउँ छाडेर भागेपछि केटी पक्षका मानिसले केटाका काका ६२ वर्षीय गणेश रायलाई बन्धक बनाएपछि गाउँमा तनाबको स्थिति सिर्जना भएको सर्लाही प्रहरीले जनाएको छ ।
केही दिनदेखि बबरगञ्ज स्थित कुशवाहा धर्मशालामा बन्धक बनाएर राखिएका यादवलाई छुटाउन शनिबार दिउँसो प्रहरी पुग्दा केटी पक्षका गाउँलेले प्रतिकार गरेका थिए । त्यसपछि तनाबको अवस्था सिर्जना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता विजय यादवले जानकारी दिए ।
साह समुदायका केटी पक्षकाले यादव समुदायका केटाको काकालाई धर्मशालामा थुनेर बन्धक बनाएको भन्ने सूचना पाएपछि सुरुमा ईलाका प्रहरी कार्यालय बयलवासबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
केटी पक्षकाले प्रहरीलाई धर्मशालामा प्रवेश गरी बन्धक बनाइएका केटाको काकालाई उद्धार गर्न नदिएपछि स्थानीय प्रहरीले अश्रुग्याँस प्रहार गर्दा तनावको अवस्था सिर्जना भएको हो ।
शनिबार साँझ प्रहरीको थप युनिटबाट समेत प्रहरी घटनास्थलमा पुगेको थियो । केटी पक्षले बन्धक बनाएर राखेका यादवलाई प्रहरीले उद्धार गरेको इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका प्रहरी निरीक्षक रोशन थापाले बताए ।
यादवलाई उद्दार गर्ने क्रममा स्थानीयको ढुंगामुडाबाट ६ जना प्रहरी घाइते भएका छन् ।
सर्लाही प्रहरीका अनुसार यहि असोज १३ गते गाउँ छाडेर भागेका युवक र युवती हाल ईलामतिर रमाइरहेका छन् ।
स्थानीय प्रहरीले भेटेर सम्झाउँदा पनि युवतीले युवकलाई छाडेर घर फर्किन अस्वीकार गरेकी छन् ।
