जनकपुर, कार्तिक १
तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष वृषेशचन्द्र लालले संघियतालाई समाप्त पार्ने मनसायका साथ मुलुकमा गठबन्धनको राजनीति शुरु गरिएको आरोप लगाएका छन् । उनले यस प्रकारको राजनीतिले हजारौ शहीदको बलिदानीबाट प्राप्त प्रजातन्त्र, संघियता नै समाप्त हुने खतरा रहेको बताए ।
देशमा सिद्धान्तहिन राजनीति चलिरहेकाले सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धनले निर्वाचन प्रणालीको मर्ममाथी नै प्रहार गरेको आरोप लगाए । राजनीतिमा पुस्ता हस्तान्तरणको आईसकेको समयमा गठबन्धनको नाममा पुरानै अनुहारलाई दोहराउने र आफ्नो पदलोलुप्ता पूरा गर्ने कुचेष्टा गरिएको बताए ।
तमलोपा अध्यक्ष वृषेशचन्द्र लाल महोत्तरी ३को प्रतिनिधिसभामा उम्मेदवारी समेत दिएका छन् । त्यहाँ उनीसंगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले समेत उम्मेदवारी दिएका हुन् । राजनीतिबाट सन्यास लिने समय आई सकेको समयमा उम्मेदवारी दिनु, युवाहरुलाई राजनीतिमा अवसर नदिनु, पुस्ता हस्तान्तरण नगर्नु यस्तै प्रवृति बिरुद्ध आफूले आफ्नै राजनीतिका गुरु ठाकुर बिरुद्ध उम्मेदवारी दिएको स्पष्ट पारे ।
मधेश आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने, शहीदहरुको आपमान बढ्दै जान थालेपछि मधेश आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, मधेशको पहिचान, सम्मान तथा स्वाभिमानको रक्षाका लागि चुनावी मैदानमा उतरिएको बताए । गठबन्धनसंग कुनै राजनीतिक एजेण्डा नरहेकाले कुनै गठबन्धनलाई मत नदिन आग्रह समेत गरे ।
