जनकपुर, कार्तिक ६
संविधान र अहिलेसम्मका उपलब्धीको रक्षाका लागि सत्तारुढ गठबन्धनलाई जिताउनै पर्ने अवस्था रहेको सत्ता गठबन्धनका शिर्ष नेताहरुले बताएका छन् । पाँचदलिय सत्ताधारी गठबन्धनका शिर्षनेताहरुले गठबन्धनलाई जिताउनै पर्ने अवस्था छ, अन्यथा सत्तारुढ घटक दलको अस्तित्व समाप्त हुनुका साथै संविधान र अहिले सम्मका उपलब्धी समेत गुम्ने डर रहेको बताए ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा शनिबार भएको सत्ता गठबन्धनमा आवद्ध दलहरुको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसको मत तान्नका लागि मधेसको समस्या समाधानका लागि सत्तारुढ गठबन्धन नै अग्रसर रह्ने दावी गरे । उनले नागरिकता सम्बन्धि समस्या समाधानका लागि मधेसका जनताले सत्ता गठबन्धनकै पक्षमा मत दिनु आवश्यक रहेको बताए । सानो मन्तव्य दिएका प्रधानमन्त्री देउवा एवं नेपाली कांग्रेसका सभापति देउवाले नागरिकता विद्ययेकलाई नै आधार मानेर को मधेशको हितमा रहेको र को मधेशको अहित सोचि रहेको पहिचान गर्न आग्रह गरे ।
भेलामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनलाई पराजय भोग्नु परे पूरै देशको विजोग हुने बताए । उनले देशलाई सही दिशामा डोर्याउनका लागि सत्ता गठबन्धनका उम्मेदवारहरु जित्नु आवश्यक रहेको बताए । गठबन्धन जिते भोली राजदुत, राष्ट्रियसभा सदस्य सहितका राजनितिक लाभ लिने अवसर वाँकी नै रहेको र नजिते सबै समाप्त हुने भन्दै उनले टिकट पाइएन भनेर घात गर्ने सोँच त्याग गर्न उनले आग्रह गरे ।
सर्लाही २ सहितका क्षेत्रहरुमा गठबन्धन भित्रै पनि अर्को उम्मेदवारहरु रहेको ठाँउमा भोली सम्म बसेर एकलाई आधिकारिक बताउदै नमान्ने उम्मेदवारलाई सिधा कारवाहि गर्ने निर्णय लिन लागेको उनले बताए ।
नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मधेश र मधेशीको मात्र नभई गणतन्त्र, धर्मनिरपेक्षता र संघियताका समेत विरोधी केपि ओलीको पछि नलाग्न आग्रह गरे । उनले गठबन्धन बिरुद्ध जसपा संंग अपवित्र गठबन्धन गरेको आरोप समेत लगाए । “पाँच दलीय गठबन्धनले मुलुकलाई संकटबाट बचाउन गरिएको छ । संविधानलाई बचाउनका लागि गरिएको छ,“ उनले भने, “त्यसकारण पाँच दलीय गठबन्धनको उद्देश्य पवित्र छ । तर एमाले जसापको गठबन्धन अपवित्र हो । त्यहाँ संघीयता विरोधी तत्त्वहरू छन् । उनीहरूलाई परास्त गर्नुपर्छ ।“
लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले गत स्थानिय तहको निर्वाचनको नतिजालाई निहुँ बनाएर अगामि चुनावमा तितामिठा कुराहरु नकोटयाउन आग्रह गरे । गठबन्धनको कार्यदलका संयोजक रामचन्द्र पौडेलले मधेशमा केपि ओली र एमाले जित्न लागेको जस्तो हाय हाय गर्नु मधेश मधेशीको अहितमा रहेको बताए । ओली र एमालेको चरित्र बुझन उनले आग्रह गरे ।
कार्यक्रममा नेपाल समाजवादी पार्टीका सहअध्यक्ष महेन्द्रराय यादवलाई मञ्च भरिसकेपछि आसन ग्रहण गराएपछि उनी मञ्च बहिष्कार गरेर सहभागी नेता कार्यकर्ताहरुसंगै बसेका थिए । उनलाई प्रचण्ड सहितका नेताहरुले सम्बोधन गर्ने क्रममा दुःख नमान्न र मुख्य मिशन पुरा गर्न आग्रह गरे ।
भेलामा कांग्रेसका नेता विमलेन्द्र निधी, आनन्द प्रसाद ढुङ्गाना सहितकाले सम्बोधन गरेका थिए
