जलेश्वर, कार्तिक ११

महोत्तरीको भंगहा नगरपालिका–८ पररियामा दुई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । बिहीबार हिन्दू सम्राट सेनाले शोभायात्रा निकालेको सकय मुस्लिम समुदायका व्यक्तिहरुले पत्थरबाजी गरेपछि झडप भएको थियो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक चन्देश्वर यादवका अनुसार बिहीबार बिहानैदेखि हिन्दु सेना सम्राटका कार्यकर्ता बताउने समूह र मुस्लिम समुदायबीच दिनभर झडप चलेको थियो । झडपमा परेर दुबै पक्षका दर्जनौं व्यक्ति घाइते भएको प्रहरी नायव उपरीक्षक यादवले जानकारी दिए ।

उनले भने, ‘बिहान करिब १० बजेको समयमा हिन्दु सेना सम्राटले मार्च पास निकालेको बेला वडा नम्बर–८ स्थित पररियामा दुबै समूहबीच झडप भएको थियो । दुबैतर्फबाट भएको ढुंगामुढाको क्रममा सुरक्षाकर्मीसमेत गरी झण्डै एक दर्जन व्यक्ति घाइते भएका छन् । अवस्था तनावग्रस्त भएपछि प्रहरीले ३२ राउण्ड हवाई फायर गरेको थियो ।’

यता झडपले उग्र रूप लिएपछि स्थानीय प्रशासनले भंगहा नगरपालिकामा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ । शान्त भएको विवाद राती बढ्न सक्ने आशंकामा त्यस क्षेत्रमा साँझ ४ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

आदेशको वर्खिलाप भएमा कानून बमोजिम कडा कारवाही हुने चेतावनी समेत दिइएको छ ।

दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्व ब्रम्हस्थान पररिया र उत्तरमा धर्मपुर भन्दा दक्षिणको भाग, पूर्वमा लोहारपट्टी नपा वडा नम्बर–१ बगडा चौक र पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टी नजिकोको पुलसम्म कर्फ्यू आदेश जारी गरिएको हो ।