जलेश्वर, कार्तिक ११

गृह मन्त्रालयले महोत्तरीको भंगहन नगरपालिकामा भएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।

मन्त्रालयले शुक्रबार सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिमा प्रहरीका प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी नायव महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी सदस्य छन् ।

समितिलाई सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । कात्तिक १० गते भंगहा नगरपालिका वडा नं.८ मा छठ पर्वको अवसरमा आयोजित कलश यात्राको सिलसिलामा हिन्दु र मुस्लिम समुदायबीच विवाद सिर्जना भएको थियो ।

विवादले झडपको रुप लिएपछि स्थानीय प्रशासनले अपरान्ह ४ बजेदेखि कर्फ्यू आदेश जारी गरेको थियो ।