जनकपुर, कार्तिक १७

मधेश प्रदेशका मुख्यमन्त्रीले निर्वाचनको प्रचारप्रसारको क्रममा सरकारी सवारीसाधन दुरुपयोग गरेको भन्दै निगरानी बढाएको छ ।

आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सो प्रदेशको प्रदेशसभा सचिवालयलाई पत्र पठाई प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीसमेतले सवारी साधन नबुझाइ निजी नम्बरप्लेट कायम गरी निर्वाचन प्रचारप्रसारमा हिँडेको हो वा होइन भन्ने विषयमा विवरण उपलब्ध गराउन पत्र पठाएपछि खैलाबैला मचेको छ ।

आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (क) मा सार्वजनिक निकाय वा कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने व्यवस्था रहेको स्मरण गराउँदै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री समेतले सवारी साधन नबुझाइ निजी नम्बरप्लेट कायम गरी हिँडेको भनी उजुरी आएपछि आयोग गम्भिरतापूर्वक कारवाही प्रक्रिया अघि बढाएको हो ।

‘सो सम्बन्धमा के कसो भएको हो ? प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री तथा सरकारी पदाधिकारीहरुलाई सरकारी सुविधा स्वरुप तहाँबाट उपलब्ध गराइएका सवारी साधनहरूको विवरण (सवारी साधनको किसिम, सवारी साधनको नम्बर र कस्तो नम्बर प्लेट प्रयोग गरिएको छ ) आयोगको पत्रमा भनिएको छ, ‘उल्लेखित पदाधिकारीहरूलाई सरकारी सुविधास्वरुप तहाँबाट उपलब्ध गराइएका सवारी साधनहरु नियमानुसार फिर्ता गर्नुपर्नेमा सो सवारी साधनहरू फिर्ता गरी दाखिला भए नभएको यकिन विवरण समेत यो पत्र प्राप्त भएको दुई दिनभित्र पछिसम्म फरक नपर्ने गरी आयोगलाई उपलब्ध गराउनुहुन निर्णयानुसार अनुरोध गरिन्छ ।’ भन्ने सो पत्रमा उल्लेख गरिएको छ ।

मधेश प्रदेश सरकार र प्रदेश सभा सचिवालयसँग विवरण माग

त्यस्तै आयोगले सो सम्बन्धमा के कसो भएको हो ? भनी प्रदेश सभाका सभामुख, उपसभामुख र विभिन्न समितिका सभापतिलाई सरकारी सुविधास्वरुप तहाँबाट उपलब्ध गराइएका सवारी साधनहरुको विवरण दुई दिनभित्र पछिसम्म फरक नपर्ने गरी आयोगलाई उपलब्ध गराउन आग्रह गरेको हो ।

यता आयोगले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै मधेश प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका विभिन्न समितिका सभापति तथा सरकारी सवारी साधन प्रयोग गरेकाहरू मध्ये कसैले पदबाट हटेपश्चात समेत सरकारी सवारी साधन नबुझाई लगेको वा सरकारी पदमा रहँदा आफूलाई प्राप्त भएको सवारी साधनको नम्बर प्लेट परिवर्तन गरेको भेटिएमा साथै पदमा रहेका उल्लेखित मध्येका कुनै पनि सरकारी पदाधिकारीले सरकारी नम्बर प्लेट परिवर्तन गरी प्रयोग गरेको पाइएमा त्यस्तो सवारी साधन तत्काल नियन्त्रणमा लिई कानूनबमोजिम कारबाही गर्न निर्देशन दिएको जनाइएको छ ।