जनकपुर, कार्तिक १८

गएको ४० वर्षमा नेपाली जनताले मुलुकमा ४ वटा व्यवस्था परिवर्तन भएको देखे । तर महोत्तरीका जनताका बिच परिवर्तन भएनन् शरतसिंह भण्डारी । उनी महोत्तरी निर्वाचन क्षेत्र नम्बर २को निवर्तमान प्रतिनिधिसभा सांसद हुन् । नेपाली जनताले यो ४० वर्षमा पंचायती व्यवस्थालाई फालेर देखायो, राजतन्त्र समाप्त भयो, देशमा गणतन्त्र आयो र नेपाल संघिय गणतन्त्रात्मक मुलुक बन्यो । चारवटै व्यवस्थामा नेतृत्व पंक्तिमा रहेर काम गर्ने नेता हुन् भण्डारी ।

भण्डारी अहिलेसम्म ८ पटक संसदीय चुनावमा प्रतिस्पर्धा गरि सकेका छन् भने उनीमाथी महोत्तरीका जनताले ६ पटक विश्वास गरे भने २ पटक हारको स्वाद पनि चखाए । फेरी उनी यसै क्षेत्रबाट नवौँ पटक चुनावी प्रतिस्पर्धामा उतरिएका छन् ।

२०३८ साल, २०४२ साल, २०५१ साल, २०५६ साल, २०६४ साल, २०७४ सालको संसदीय निर्वाचनमा उनले चुनाव जितेका थिए भने २०४८ साल र २०७० सालमा पराजय व्यहोर्नु परेको थियो ।

सत्ता गठबन्धनबाट उम्मेदवार रहेका भण्डारीलाई नेकपा एमाले–जसपा गठबन्धनबाट डा. रामपरीक्षण यादव र तराई मधेश लोकतान्त्रिक पार्टीका डा. विजयकुमार सिंहले चुनौती दिएका छन् । डा. यादव राजनीतिमा नवप्रवेशी हुन् । यसअघि उनी सरकारी जागिरमा चिकित्सा पेशामा कार्यरत थिए । साविकको जनकपुर अञ्चल अस्पतालमा उनी मेडिकल सुपरिटेन्डेन्ट भएर काम गरिसकेका छन् ।

डा. सिंह भने तत्कालिन राजपा र लोसपामा रहेर राजनीति गरि सकेका छन् । भण्डारीसामु यी दुई उम्मेदवार कमजोर देखिएपनि पछिल्लो निर्वाचनभन्दा भण्डारीसमक्ष चुनौतीहरु पनि थपिएका छन् ।

जसपा विभाजन, लोसपाबाटै अलग्गिएर बनेको तराई मधेश लोकतान्त्रिक पार्टीका बरिष्ठ नेता डा. सिंह उम्मेदवार बन्नु उनका लागि चुनौती छ । त्यस्तै सो प्रतिनिधिसभा क्षेत्रको दूबै प्रदेशसभा क्षेत्रमा लोसपाको बागी उम्मेदवार उठ्नु पनि भण्डारीका लागि चिन्ताको विषय हो । सोही क्षेत्रबाट निर्वाचन लड्दै आएकी नेपाली कांग्रेसको नेतृ किरण यादवले टिकट नपाएपछि पार्टीपंक्तिप्रति असन्तुष्ट रहँदै आएका छन् । २०७४ सालको निर्वाचनमा भण्डारीको प्रतिष्पर्धी रहेकी किरण यादवले सहयोग नगर्ने कतिपयको आकलन छ ।

तर यी चुनौतीहरु भण्डारीका लागि खासै महत्व नराख्ने लोसपाका युवा नेता कुश चौधरी बताउँछन् । उनी महोत्तरी २मा मात्र नभएर महोत्तरीको कुनै क्षेत्रबाट निर्वाचन लडे सर्वाधिक लोकप्रिय नेता रहेको र उनीमाथी जनताको विश्वास सदैव रहँदै आएको चौधरीले दावी गरे ।

नेपालमै सबैभन्दा बढी संसदीय राजनीतिको अनुभवका साथै सरकारमा मन्त्री भएर काम गर्ने अनुभव पनि भण्डारीसंगै छ । यद्यपि महोत्तरीका जनता मेरो विकल्पको रुपमा अरु कसैलाई देख्दैनन् भण्डारीले दावी गरे । उनले जुन व्यवस्थामा रहेर भएपनि सरकारमा बस्दा जनताप्रति देखाएको निष्ठा र निश्कलंक मेरो राजनीतिक कैरियरकै कारण यहाँका जनताले ममाथी विश्वास गर्दै आईरहेको उनले बताए । यस्ता कयौँ उदाहरण छन् जहाँ जनताले एक दुई पटक नेतालाई परिक्षण गरेर राजनीतिबाटै बहिर्गमनको बाटो देखाएका छन्, भण्डारीले भने ‘तर मेरो राजनीतिक जीवनमा कुनै दाग नभएकै कारण ४० वर्षदेखि महोत्तरीका जनता मलाई हृदयमा बसाएका छन् ।’

कतिपयले भण्डारी नै किन, नयाँ अनुहार किन होइन भन्छन् यसको औषधी मसंग छैन, म आफैले यसको सर्टिफिकेट बनाएको होइन यहाँका जनताले मलाई आफ्नो प्रतिनिधित्व गर्ने अवसर दिदै आएको भण्डारीको भनाई छ ।

भण्डारीको राजनीतिक यात्रा

दादाको नामले प्रख्यात भण्डारीले राजनीति विरासतमा पाएका छन् । भण्डारीले आफ्नो पिता पृथ्वीमान सिंह ‘मनु बाबु’को राजनीतिक विरासतलाई अगाडि बढाएका छन् ।

पञ्चायती व्यवस्थाको समयमा भण्डारी विद्यार्थी थिए । सोही समयमा उनी समाजमा व्याप्त गलत कृयाकलापका साथै कुरिति बिरुद्ध आवाज उठाउने गर्थे । सोही समयदेखि उनका साथीहरुले स्नेहपूर्वक नाम दिए ‘दादा’ । पछि जिल्लाभरीकै मान्छे उनलाई दादा भनेर सम्बोधन गर्न थाले

भण्डारीका बुवा महोत्तरी जिल्लाका लोकप्रिय राजनीतिकर्मी थिए । तत्कालीन पञ्चायती व्यवस्थामा उनी जनपक्षीय राजनीति गर्थे । जसका कारण तत्कालीन जिल्ला पञ्चायतको सदस्य हुँदै राष्ट्रिय पञ्चायतको सदस्य, पञ्चायत संसदको राजनीतिक समितिको सभापतिसम्म उनका बुवा भए ।

२०३२ सालमा संविधान संशोधनको मानग उठेपछि पंचायती व्यवस्थाका पक्षधरहरु नै दुई धार बाँर्डि । एक धार थियो सुधारवादी अर्को धार थियो ’हार्ड कोर’ । सूर्यबहादुर थापा सुधारवादीको पक्षमा थिए । भण्डारीका बुवा पनि उनकै पक्षमा थिए ।

त्यसलाई नै जोडेर २०३४ सालको चुनावमा सुधारवादी पंचायतको पक्षमा रहेका नेताहरुलाई दरबारविरोधी, सरकारविरोधी, व्यवस्थाविरोधी गतिविधिमा लागेको भन्दै उनीहरुको राजनीति समाप्त पार्ने षडयन्त्र शुरु भयो । सोही षडयन्त्रका कारण पृथ्वीमान चुनावमा पराजित भए ।

सो समयमा भण्डारी मात्र २१ वर्षका थिए । यद्यपि उनी राजनीतिमा सक्रिय भई सकेका थिए । २०३५ सालमा भण्डारीको बुवाको एक दुर्घटनामा निधन भयो । त्यस लगत्तै २०३६ सालमा जनमत संग्रह भयो । जनमत संग्रहमा भण्डारी प्रत्यक्ष राजनीतिमा होमिएका थिए । ‘जनमत संग्रहमा हामी होमियौं, बहुदलको पक्षमा खुलेर लागेका थियौं,’ भण्डारीले भने, ’बहुदलको पक्षमा लागेका कारण मसहित केही साथीविरुद्ध ’शूट एट साइट’को अर्डर जारी भयो ।’

भण्डारीसंगै नेपाली कांग्रेसमा आबद्ध सीताराम भण्डारी, वसन्त गुरुङ, महेन्द्रकुमार राय, रामचन्द्र राय, वामपन्थी राजनीतिमा लागेका गंगाविक्रम थापा, मदनबहादुर थापासहित विरुद्ध ’शूट एट साइट’को आदेश गरिएको थियो । जनमतमा सुधारिएको पञ्चायती व्यवस्थाको जीत भएपछि चुनाव भयो । त्यतिबेला भण्डारी भने चुनाव नलड्ने मूडमा थिए ।

तर, उनका बुवाका समर्थक तथा महोत्तरीका नेताहरूको दवाबका कारण चुनाव लडे । सो समयमा २५ वर्षको उमेरमा मताधिकार दिइएको थियो र भण्डारी पनि २५ वर्षकै थिए । २०३८ सालको चुनावमा भण्डारी पहिलोपटक सांसद बन्न सफल भए ।

२०४२ सालको दोस्रो चुनावमा पनि उनी विजयी भएका थिए । त्यो समयमा मन्त्रीमण्डलमा सहायक मन्त्रीको पद दिइयो । मरिचमान सिंहको समयमा सहायक मन्त्री बनेका भण्डारीलाई ६ महिनापछि क्याबिनेट मन्त्री बनाइयो ।

उनी मन्त्री भएकै बेलामा २०४६ सालमा बहुदलीय व्यवस्थाको मागसहित जनआन्दोलन भएको थियो । ’त्यो आन्दोलन हुँदा पनि मन्त्री केशवबहादुर बुढाथोकी, बेनु प्रसाईं, परशुनारायाण चौधरी लगायत हामी केहीले भने आन्दोलनकारीसँग सम्वाद गर्नुपर्छ भन्ने पक्षमा थिए । भण्डारीपनि सोही पक्षमा थिए ।

२०४६ सालको आन्दोलन सफल भएपछि देशमा बहुदलीय व्यवस्था आयो । बहुदल आएपछि २०४८ सालमा भएको पहिलो चुनावमा सूर्यबहादुर थापाको राप्रपाबाट भण्डारी चुनाव लडेका थिए । उक्त चुनावमा भने उनी २ हजार मतले पराजित भएका थिए ।

त्यसपछि उनी राप्रपा परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । ’हंग पार्लियामेन्ट’ भएको बेला लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारले संसद् विघटन गरेपछि भण्डारीकै एक मतले संसद् पुनःस्थापना भएको थियो । संसद पुनःस्थापना भएपछि सूर्यबहादुर थापा र शेरबहादुर देउवा प्रधानमन्त्री भएका थिए । सोही क्रममा कांग्रेसमा उनी आवद्ध भएका थिए ।

२०५१ सालको मध्यावधि निर्वाचनमा नेपाली कांग्रेसले उनलाई टिकट दिएन । कांग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्रबाट उम्मेदवारी दिए । स्वतन्त्रबाटै उनी निर्वाचित भए ।

२०५६ सालमा महोत्तरीको ४ वटै क्षेत्र कांग्रेसलाई जिताउन भण्डारीले महत्वपूर्ण भूीमका निर्वाह गरेका थिए । त्यसपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएको मन्त्रीमण्डलमा भण्डारी पनि मन्त्री भए । ९ महिना मात्र उक्त सरकार चलेको थियो । माओवादी आन्दोलन, राजाको प्रत्यक्ष शासन, २०६२÷०६३ सालको जनआन्दोलनपछि मधेश आन्दोलन शुरू भयो ।

मधेश आन्दोलन चलिरहँदा तत्कालीन प्रधानमन्त्री गिरिजाबाबुलाई मैले मधेशकै कारण कांग्रेस र लोकतन्त्र जोगिएको छ, मधेशीहरू आफ्नो अधिकारका लागि आवाज उठाई रहेका छन् उनीहरूको माग के हो भन्ने सुनिििदने काम हामीले गर्नुपर्छ भन्ने बताएको भण्डारीले स्मरण गरे । विमलेन्द्र निधि, विजय गच्छदार, महेश आचार्य, रामवरण यादवसहितको टोलीले मधेशलाई कसरी हेर्ने र मधेशको समस्या कसरी समाधान गर्ने भन्ने भिजन समेत बनाएका थियौं । तर त्यो भिजन अनुसार कामै नभएको भण्डारीको गुनासो छ ।

मधेश आन्दोलन उत्कर्षमा पुग्न थालेपछि अन्ततः उनी कांग्रेस पार्टी नै परित्याग गरे । कांग्रेस परित्याग गरेका भण्डारी उपेन्द्र यादवको नेतृत्वमा रहेको तत्कालिन मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरे । २०६४ सालको पहिलो संविधानसभाको चुनावमा सोही पार्टीबाट संविधानसभामा निर्वाचित पनि भए । पछि फोरम टुक्रिदा उनी विजय गच्छदारको नेतृत्वमा रहेका फोरम लोकतान्त्रिकमा लागेका थिए । त्यसपछि उनी रक्षामन्त्री बने । त्यो समयमा भण्डारीले दिएका अभिव्यक्तिका कारण मन्त्री पदबाट बर्खास्त गरियो ।

आफूले हरेक नेपालीको मनमा समान रुपले राष्ट्रियता झल्काउनका लागि नेपाली सेनामा मधेशीहरुको सम्मानपूर्वक सहभागिता हुनु पर्छ माग उठाएकै कारण मन्त्री पद बहिष्कार गरेको भण्डारी स्मरण गर्छन् ।

त्यसपछि उनले आफ्नै नेतृत्वमा राष्ट्रिय मधेश समाजवादी पार्टी गठन गरेर मधेशभर अभियान सञ्चालन गरेका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी महोत्तरी– १ र महोत्तरी– २ सहित दुवै क्षेत्रबाट चुनाव लडेका थिए तर दुवै क्षेत्रबाट पराजित भए । पछि विभिन्न ६ वटा पार्टी मिलेर राष्ट्रिय जनता दल बनाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरे । २०७४ सालको निर्वाचनमा उनले राजपाबाट महोत्तरी– २ मा फेरि पनि चुनाव जिते । अहिले उनी लोकतान्त्रिक समाजवादी पार्टीका नेता हुन् ।