जनकपुर, कार्तिक १८

कुमारी आमा भन्न रुचाउने निहारिका राजपुतका छोराको डिएनए शिवराज श्रेष्ठसँग मिलेको छ ।

विधि विज्ञान प्रयोगशाला काठमाडौंले शुक्रबार उच्च अदालत जनकपुरलाई पठाएको डिएनए टेस्ट रिपोर्टमा बच्चा र शिवराजको डिएनए मिलेको रिपोर्ट आएको हो ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ का शिवराजले भने बच्चा आफ्नो नरहेको दावी गर्दै आएका थिए ।

बच्चा शिवराजकै रहेको निहारीकाको दावीपछि उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले गएको भदौ ८ गते दुवै जनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो ।

यता निहारिकाले भने शिवराजले आफुलाई जवर्जस्ती बलात्कार गरेपछि गर्भ बसेको र बच्चा जन्मेपछि उनले आफुलाई कुमारी आमा रहेको दावी गर्दै आएकी छन् । तर अदालतले भने जवर्जस्ती बलात्कार नदेखिएकाले नाता कायमका लागि प्रक्रिया अघि बढाउन समेत पीडित भनिएकी निहारिकालाई भनेको थियो ।