जनकपुर, कार्तिक २३
धनुषा निर्वाचन क्षेत्र नंं. ३ मा दुई वटा प्रदेश सभा सदस्य पदका लागि दुई गठबन्धन र स्वतन्त्र उम्मेदवारहरु बीचमा कडा प्रतिस्पर्धा रहेको छ ।
धनुषा– ३ (१) मा मधेश प्रदेशका पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता रामसरोज यादव पाँच दलीय गठबन्धन दलका तर्फवाट उम्मेदवार छन् भने उनलाई नेकपा एमाले– जसपा गठन्धनका उम्मेदवार मुख्यमन्त्री लालबाबु राउतको पूर्व नीजि प्रमुख स्वकीय सचिव जितेन्द्र यादव र जनमत पार्टीका उम्मेदवार डा.प्रसन्न कुमार झाले टक्कर दिएका छन् ।
त्यस्तै धनुषा– ३ (२) बाट प्रदेशसभा सदस्य पदमा पाँचदलीय गठबन्धनका उम्मेदवार लोसपा नेता र निवर्तमान प्रदेश सभाका सदस्य परमेश्वर साहलाई एमाले जसपाका गठन्धन दलका उम्मेदवार निर्माण व्यवसायी दिपेन्द्र ठाकुर बीचमा कडा प्रतिस्पर्धा छ । प्रदेश सभा सदस्य पदमा एमाले– जसपा गठबन्धनका तर्फवाट एमालेबाट उम्मेदवार बन्नु भएका ठाकुर जनकपुरधामका प्रसिद्ध रामानन्द यूवा क्लवका पूर्व अध्यक्ष समेत रहेकाले उहाको पक्षमा यूवा वर्गको साथ बढी रहेको छ ।
दुवै जना गठबन्धन दलका उम्मेदवारहरुलाई स्वतन्त्र उम्मेदवारद्वय अम्बुप्रसाद साह र हरिशंकर साहले टक्कर दिईरहेका छन् । प्रदेश सभा सदस्य पदका उम्मेदवारहरु प्रतिनिधि सभाका गठबन्धन दल उम्मेदवारसंगै तथा व्यक्तिगत रुपमा पनि जनताको घर घरमा पुगेर मत मागीरहेका छन् । आम जनताहरुले विभिन्न प्रकारका प्रश्नहरु उम्मेदवारहरुसंग गरिरहेका छन् ।
धनुषाको ४ प्रतिनिधि सभा तथा ८ वटा प्रदेश सभा सदस्य पदका लागि अगामी मंसिर ४ गते चुनाव हुन लागेको छ । धनुषाको निर्वाचन क्षेत्र नंं. ३ को क र ख मा दर्जनौको संख्यामा प्रदेश सभा सदस्य पदका उम्मेदवारहरु रहेका छन् ।
