जनकपुर, मंसिर १

सबैभन्दा बढी जनघनत्व मधेश प्रदेशमै छ । मधेश प्रदेशको ८ जिल्लामा कुल ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरु छन् । ८ वटै जिल्लामा ४÷४ वटा निर्वाचन क्षेत्र रहेको मधेश प्रदेशमा २०७४ को निर्वाचनमा मधेश केन्द्रित दलहरु तत्कालिन राष्ट्रिय जनता पार्टी र तत्कालिन संघिय समाजवादी फोरम गठबन्धन गरेर चुनाव लडेको थियो । त्यस्तै नेकपा एमाले र माओवादी केन्द्रले समेत वाम गठबन्धनले मिलेर चुनाव लडेको थियो भने नेपाली कांग्रेस एक्लै चुनावमा होमिएको थियो । तर यस पटक समिकरण फेरिएको थियो । तत्कालिन संघिय समाजवादी फोरम अहिलेको जनता समाजवादी पार्टी (जसपा) नेपाल नेकपा एमालेसंग चुनावी तालमेल गरेको छ भने तत्कालिन राजपा अहिलेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल पाँच दलीय सत्ता गठबन्धनबाट चुनाव लडिरहेको छ ।

२०७४ सालको निर्वाचनमा मधेश प्रदेशमा तत्कालिन राजपाले सबैभन्दा बढी १० सीटमा जित निकालेको थियो भने तत्कालिन संघिय समाजवादी फोरमले ९, नेपाली कांग्रेसले ६, माओवादी केन्द्रले ५ र नेकपा एमालेले २ सीटमा जित निकालेको थियो । तर मंसिर ४ गते हुने निर्वाचनमा चुनावी गठबन्धनको बलमा प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले जीतको संख्यामा बढोत्तरी गर्ने सम्भावना छ भने मधेश केन्द्रित दलहरु जसपा र लोसपा पहिलेभन्दा खुम्चिने देखिएको छ । यद्यपि मधेश प्रदेशको ३२ मध्ये २० सीटमा सत्ता गठबन्धन मजबुच स्थितिमा देखिएको छ १० सीटमा एमाले–जसपा गठबन्धन र २ सीटमा स्वतन्त्र उम्मेदवारहरु मजबुत स्थितिमा छन् ।

धनुषा

धनुषाको ४ वटै निर्वाचन क्षेत्रमा पाँच दलीय गठबन्धनका उम्मेदवारहरु मजबुत स्थितिमा देखिएका छन् । यद्यपि धनुषा ३ र धनुषा ४ मा सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धनबिच कडा प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ ।
धनुषा– १ मा माओवादी केन्द्रका उम्मेदवार मातृका यादव र प्रतिपक्षी गठबन्धनबाट जसपाका दिपक कार्कीबीच प्रतिष्पर्धा छ । यहाँ एमाले छोडेर किशोरी साह कमलले जनमत पार्टीबाट उम्मेदवार बनेका छन् । कमलको उम्मेदवारीले यी दुई उम्मेदवार बिचको प्रतिस्पर्धालाई झनै रोचक बनाएको छ । यद्यपि २०७४ सालको निर्वाचनमा तत्कालिन संघिय समाजवादी फोरमबाट उम्मेदवारी दिएका कार्कीलाई माओवादी केन्द्रका यादवले पराजित गरेका थिए । यही परिणाम फेरी दोहोरिने कतिपयको आकलन छ ।

धनुषा– २ मा ३ पूर्वमन्त्री र एक प्रभावशाली नेता बिच रोचक प्रतिस्पर्धा छ । चारै जना मध्ये कसैले पनि निर्वाचन परिणामा आफ्नो पक्षमा पार्न सक्ने त्यहाँका मतदाताहरुको आकलन छ । त्यहाँ नेपाली कांग्रेसबाट रामकृष्ण यादव, नेकपा एमालेबाट उमाशंकर अरगरिया, नेकपा एकिकृत समाजवादी पार्टीबाट रामचन्द्र झा र एमाले छोडेर जसपाको उम्मेदवार बनेका गंगाराम यादवबिच प्रतिस्पर्धा देखिएको छ । २०७४को निर्वाचनमा तत्कालिन संघिय समाजवादी फोरमबाट यहाँ अरगरियाले जीत निकालेका थिए । पछि लोसपामा लागेका अरगरिया एमालेको उम्मेदवार बनेपछि यहाँ एमाले मजबुत स्थितिमा देखिएको छ । धनुषा २ नेपाली कांग्रेसको गढको रहेकाले रामकृष्णले जीत निकाल्ने कतिपयको अकालन छ ।

धनुषा– ३ मा लोसपाका अनिल झा र एमालेकी जुली महतोबिच प्रतिस्पर्धा छ । गठबन्धन भित्रको मत क्रस नभए यहाँ झाको पक्षमा निर्वाचनको परिणाम जानेमा कुनै शंका छैन । तर यहाँ नेपाली कांग्रेसको आफ्नो उम्मेदवार नरहेको र जातिय फैक्टर यहाँ महत्व राख्ने भएकाले कांग्रेसी मत क्रस हुने सम्भावना प्रबल छ । जुन लोसपाका उम्मेदवार झाका लागि टाउको दुखाईको विषय छ । २०७४को निर्वाचनमा यो क्षेत्रमा तत्कालिन राजपाबाट राजेन्द्र महतोले जीत निकालेका थिए ।

धनुषा– ४ मा २०७४ को परिणाम फेरी दोहरिन सक्ने देखिएको छ । २०७४मा यस क्षेत्रबाट एमालेबाट रघुवीर महासेठले जीत निकालेका थिए । यसका साथै २०७४को स्थानीय तह निर्वाचनमा एमालेले राम्रै मत पाएको थियो । तर २०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनमा कांग्रेसले यस क्षेत्रमा कमबैक गरेपनि महासेठले नै जीत निकाल्ने कतिपयको दावी छ ।

महोत्तरी

२०७९ वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको परिणामलाई आधार मान्ने हो भने महोत्तरीमा ३ सीटमा गठबन्धन र एक सीटमा एमाले–जसपा गठबन्धन मजबुत स्थितिमा देखिएको छ ।
महोत्तरी १ को निवर्तमान सांसद हुन् गिरिराजमणि पोखरेल हुन् । उनी फेरी यसै क्षेत्रबाट चुनावी मैदानमा छन् भने २०७४को प्रतिनिधिसभा निर्वाचनमा उनलाई चुनौती दिएका लक्ष्मी महतो जसपा छोडेर एमालेको उम्मेदवार बनेका छन् । यसका साथै बर्दिवासस्थित यातायात कार्यालयको प्रमुख पदबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका पोषण थापा पोखरेलका लागि टाउको दुखाईको विषय बन्न सक्छन् ।

महोत्तरी- २ मा सत्ता गठबन्धनका उम्मेदवार लोसपाका शरतसिंह भण्डारी मजबुत स्थितिमा देखिएका छन् । उनलाई तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का डा. विजयकुमार सिंह र नेकपा एमालेका रामपरिक्षण यादवले चुनौती दिएका छन् । दूबै उम्मेदवार भण्डारीको कद साम्मुने कमजोर रहेको र २०७९को स्थानीय तह निर्वाचनमा त्यहाँ लोसपाले राम्रो परिणाम निकालेकाले भण्डारीले सहजै परिणाम आफ्नो पक्षमा पार्ने अनुमान गरिएको छ ।

महोत्तरी ३मा लोसपाका अध्यक्ष महन्थ ठाकुर सबैभन्दा मजबुत उम्मेदवार हुन् । उनलाई जसपाबाट हरिनारायण यादव र तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले चुनौती दिएका छन् । लामो समय ठाकुरसंगै सहकार्य गरेर राजनीति गरेका लाल तमलोपा ब्युँताएर उम्मेदवार दिएपछि ठाकुरलाई केही असहज पार्ने निश्चित छ । २०७४को निर्वाचनमा तेब्बर मतान्तरले जीत निकालेका ठाकुरको मत मंसिर ४ गते हुने निर्वाचनमा केही मत घटेपनि सहजै जित निकाल्ने अनुमान गरिएको छ ।

महोत्तरी ४ एमाले–जसपा गठबन्धन मजबुत स्थितिमा देखिएको छ । जसपाबाट उम्मेदवारी दिएका डा. सुरेन्द्र कुमार यादव मजबुत स्थितिमा रहेपनि उनलाई नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र कुमार रायले कडा टक्कर दिदै छन् । गठबन्धनको साथ पाएर राय पनि मजबुत स्थितिमा पुगेका हुन् ।

सिरहा

सिरहाको चारवटै निर्वाचन क्षेत्रमा वाम–लोकतान्त्रिक गठबनधन र एमाले जसपा गठबन्धनबीच प्रतिनिधसभा तथा प्रदेशसभामा कडा प्रतिस्पार्धा हुने देखिएको छ । स्थानीय तहमा प्राप्त मतलाई अधार मान्ने हो भन्ने तीनवटा क्षेत्रमा सत्ता गठबन्धन र एक क्षेत्रमा एमाले–जसपा गठबन्धन मजबुत स्थितिमा देखिएको छ ।

सिरहा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका काँग्रेसबाट उम्मेदवारी दिएका पदम नारायण चौधरीे र एमालेबाट रामशंकर यादव छन् । यस क्षेत्रमा स्थानीय तहको मतलाइ आधार मान्ने हो भन्ने कांग्रेस उम्मेदवार चौधरी बलिया छन् । २०७४को निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसकै प्रदीप गिरीले जीत निकालेका थिए ।

सिरहा क्षेत्र नम्बर २ मा पनि सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी चित्रलेखा यादव र एमाले–जसपा गठबन्धनका उम्मेदवार जसपाका राजकिशोर यादव बीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि यहाँ जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवलाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ । उनी पनि यस क्षेत्रका मतदाता नभएकाले स्थानीय मतदाता विभाजित हुने संकेत देखिए पनि उनलाई टक्करका उम्मेदवारको रुपमा रहेको देखिन्छ ।
सिरहा क्षेत्र नम्बर ३मा सत्तागठबन्धन र एमाले–जसपा गठबन्धनको कडा प्रतिस्पधा हुने निश्चित छ । यस क्षेत्रबाट माओवादी केन्द्रको स्थायी समिति सदस्य विश्वनाथ साह र नेकपा एमाले–जसपा गठबन्धनका तर्फबाट नेकपा एमालेका पोलिटब्युरो सदस्य लीलानाथ श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो । २०७४को निर्वाचनमा श्रेष्ठले नै यहाँबाट जीत निकालेका थिए ।

सिरहा क्षेत्र नम्बर ४ मा सत्तागठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धर्मनाथ साह र जसपाका डा. वीरेन्द्र यादव उम्मेदवार छन् । क्षेत्रगत हिसावले उनीहरु कर्जन्हा नगरपालिका र सामुदायिक हिसाबले पनि एउटै भएका उनीहरुबीच कडा प्रतिस्पर्धा देखिएको छ । महतो व्यवसायिक घरानाका भएकाले र पार्टीले पत्याएका उम्मेदवार हुन् । यस क्षेत्रमा जसपा एमाले गठबन्धले पनि स्थानीय तहमा राम्रो मत ल्याएको छ । सत्ता गठबन्धनले पनि स्थानीय तहको निर्वाचनमा राम्रै मत प्राप्त गरेको छ ।

सप्तरी

सप्तरी १मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका राजदेव साह र जसपाबाट नवल साह सुडी बिच प्रतिस्पर्धा छ । सुडी मधेश प्रदेशका सामाजिक विकास मन्त्री हुन् भने यस पटक प्रतिनिधिसभामा उक्लिएका छन् । यहाँ नेपाली कांग्रेसका उम्मेदवार साहले जित निकाल्ने आकलन गरिएको छ । यस अघि २०७४को निर्वाचनमा यस क्षेत्रबाट तत्कालिन संघिय समाजवादी फोरमबाट डा. सूर्यनारायण यादवले जीत निकालेका थिए ।

सप्तरी २मा सबैभन्दा मजबुत उम्मेदवारका रुपमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई देखिएपनि यहाँ सत्ता गठबन्धनको साथ पाएका लोसपाका जयप्रकाश ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउतले कडा चुनौती दिएका छन् । यी दुई उम्मेदवारका बिच जसपाका अध्यक्ष यादवलाई पराजय समेत भोग्न सक्नु पर्ने सम्भावना रहेको त्यहाँका स्थानीय मतदाताहरुको भनाई छ ।

सप्तरी ३मा कांग्रेसका दिनेश कुमार यादव, एमालेका ताराकान्त चौधरी र लोसपाका लक्ष्मीकान्त मण्डल बिच प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा २०७४को निर्वाचनमा तत्कालिन राजपाबाट चन्द्रकान्त चौधरीले जीत निकालेका थिए ।

सप्तरी ४मा नेपाली कांग्रेसका तेजुलाल चौधरी जित दोहराउन सक्ने सम्भावना छ । २०७४को निर्वाचनमा समेत चौधरी नै निर्वाचित भएका थिए । उनलाई जसपाका वालकिशोर यादवले टक्कर दिईरहेका छन् ।

सर्लाही

सर्लाहीको ४ निर्वाचन क्षेत्र मध्ये २ टा क्षेत्रमा सत्ता गठबन्धन, एउटामा एमाले–जसपा गठबन्धन र एउटामा स्वतन्त्र उम्मेदवारको स्थिति मजबुत देखिएको छ ।

सर्लाही १मा एमाले–जसपा गठबन्धनबाट उम्मेदवार रहेको जसपाका प्रमोद साहले जीत दोहराउन सक्ने देखिन्छ । २०७४मा समेत जीत निकालेका साहलाई भने यसलाई जीत निकाल्न त्यती सहज हुने देखिएको छैन । उनलाई यस क्षेत्रमा लोसपाका रामप्रकाश चौधरीले चुनौती दिएका छन् । यसका साथै स्वतन्त्र उम्मेदवारहरुले साहकै मत काट्ने आकलन गरिएको छ ।

सर्लाही २मा सत्ता गठबन्धनकै दुई घटक दल लोसपा र माओवादी केन्द्रबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा लोसपाका राजेन्द्र महतो र माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव लडिरहेका नेपाल समाजवादी पाटी (नेसपा)का महिन्द्रराय यादवबिच प्रतिस्पर्धा हुने देखिएको छ । २०७४को निर्वाचनमा यस क्षेत्रबाट तत्कालिन राजपाबाट महिन्द्र राय यादवले नै जित निकालेका थिए ।

सर्लाही ३मा माओवादी केन्द्रका नरेन्द्र साह कलवार र एमालेका हरि प्रसाद उप्रेती बिच प्रतिस्पर्धा छ । यस क्षेत्रमा २०७४को निर्वाचनमा माओवादी केन्द्रका राजेश्वर राय यादवले जीत निकालेका थिए ।

सर्लाही ४मा कुनै दलका उम्मेदवारहरुबिच नभई दुई स्वतन्त्र उम्मेदवारहरु बिच कडा प्रतिस्पर्धा देखिएको छ । यहाँ कांग्रेसले टिकेट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका अमरेश कुमार सिंह र मधुमाला यादवबिच कडा प्रतिस्पर्धा हुने भएको छ । माओवादी केन्द्रले यस क्षेत्रमा टिकेट नपाएपछि माओवादीका शिवपुजन यादव छोरी मधुमालालाई जागिर छोड्न लगाएर प्रतिनिधिसभामा लडाएका हुन् । सिंह र यादवबिच यस क्षेत्रमा लामो समय राजनीतिक रुपमा लडाई चल्दै आईरहेको छ ।

रौतहट

रौतहटको ४ वटा क्षेत्रमध्ये ३ वटामा सत्ता गठबन्धन र एउटा सीटमा स्वतन्त्र उम्मेदवारले जीत निकाल्ने अनुमान गरिएको छ ।

रौतहट १बाट उम्मेदवारी दिएका नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सहजै जीत निकाल्ने अनुमान गरिएको छ । उनलाई एमालेका अजय गुप्ताले चुनौती दिएका छन् । यस क्षेत्रबाट २०७४ सालको निर्वाचनमा तत्कालिन राजपाबाट अनिलकुमार झाले जीत निकालेका थिए । तर सत्ता गठबन्धनबाट पूर्व प्रधानमन्त्री नेपाललाई यस क्षेत्रमा उठाइएपछि झालाई धनुषा ३मा उठाइएको हो ।

रौतहट २मा जेलमा रहेका कांग्रेस नेता अफ्ताब आलमको विरासत सम्हाल्न उनकै छोरा फिरदोस आलम चुनावी मैदानमा होमिएका छन् । कांग्रेसबाट उम्मेदवारी दिएका फिरदोस नै यस क्षेत्रबाट जित्ने अनुमान गरिएको छ । फिरदोसलाई जसपाका शैलेन्द्र साहले चुनौती दिएका हुन् ।

रौतहट ३मा भने एमालेको टिकेट पाएर पनि स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले जित निकाल्ने अनुमान गरिएको छ । २०७४ सालको निर्वाचनमा समेत उनी यसै क्षेत्रबाट माओवादी केन्द्रको उम्मेदवार भएर जीत निकालेका थिए । यस क्षेत्रमा माओवादी केन्द्रको रविन्द्र पटेलको समेत उम्मेदवारी परेको छ । तर आन्तरिक रुपमा माओवादीले प्रभुलाई नै सघाई रहेको कतिपयको भनाई छ ।

रौतहट ४मा कांग्रेसका उम्मेदवारले जीत निकाल्ने अनुमान गरिएको । त्यहाँ कांग्रेसबाट देवप्रसाद तिमिल्सनाले उम्मेदवारी दिएका हुन् । मधेश आन्दोलनको राप ताप रहेको समयमा समेत २०७४ सालको निर्वाचनमा तिमिलिस्नाले नै जीत निकालेका थिए । उनलाई एमालेका उद्धव प्रसाद घिमिरेले चुनौती दिएका हुन् ।
बारा

बाराको ३ वटा क्षेत्रमा एमाले–जसपा गठबन्धन मजबुत देखिएको छ भने एउटा क्षेत्रमा मात्रै सत्ता गठबन्धनका उम्मेदवार मजबुत स्थितिमा रहेको छ । यद्यपि ४ वटै क्षेत्रमा दुई गठबन्धनबिच कडा प्रतिस्पर्धा छ ।
बारा १मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीले फेरी जित निकाल्ने त्यहाँका मतदाताहरुको आकलन छ । त्यहाँ उनले २०७४ सालको निर्वाचनमा समेत जित निकालेका थिए । चौधरीलाई एमालेका उम्मेदवार अच्युत प्रसाद मैनालीले चुनौती दिएका छन् ।

बारा २मा एमाले–जसपा गठबन्धन मजबुत स्थितिमा देखिएको छ । २०७४मा तत्कालिन संघिय समाजवादी फोरमबाट जित निकालेका रामसहाय प्रसाद यादवले जसपाबाट उम्मेदवारी दिएका छन् । फेरी उनी नै यस क्षेत्रबाट जित निकाल्ने अनुमान गरिएको छ । उनलाई माओवादी केन्द्रका शिवचन्द्र प्रसाद कुश्वाहाले चुनौती दिएका छन् ।

बारा ३मा एमालेकी ज्वालाकुमारी साह, जसपाका रामबावु यादव र लोसपाका लालबाबु सिंह भूइहार बिच प्रतिस्पर्धा छ । त्यहाँ २०७४ सालको निर्वाचनमा जित निकालेका यादव मजबुत स्थितिमा देखिएका छन् ।

बारा ४मा एमालेका उम्मेदवार एकवाल मिया र नेकपा एकिकृत समाजवादीका कृष्णकुमार श्रेष्ठबिच प्रतिस्पर्धा छ । २०७४को निर्वाचनमा एकवालले तत्कालिन राजपाबाट यस क्षेत्रमा जित निकालेका थिए ।

पर्सा

पर्सा एमाले–जसपा गठबन्धन मजबुत स्थितिमा देखिएको छ । पर्सा १ जसपाबा उम्मेदवारी दिएका प्रदीप यादव मजबुत स्थितिमा छन् । उनी २०७४ सालको निर्वाचनमा समेत यसै क्षेत्रबाट जित निकालेका थिए । तर लोसपाका लक्ष्मणलाल कर्ण समेत मजबुत उम्मेदवार रहेकाले परिणाम अर्कै पनि हुन सक्ने अनुमान गरिएको छ ।

पर्सा २मा कांग्रेसका अजय कुमार चौरसिया र जसपाका सुरेन्द्र प्रसाद कुर्मी बिच कडा प्रतिस्पर्धा हुने निश्चित छ । २०७४को निर्वाचनमा यस क्षेत्रबाट तत्कालिन संघिय समाजवादी पार्टीका विमल श्रीवास्तवले जित निकालेका थिए ।
पर्सा ३मा एमालेका राजकुमार गुप्ता र कांग्रेसका सुरेन्द्र प्रसद चौधरीबिच प्रतिस्पर्धा देखिएको छ । यस क्षेत्रमा २०७४को निर्वाचनमा तत्कालिन संघिय समाजवादी पार्टीबाट हरिनारायण प्रसाद रौनियार जितेका थिए ।

पर्सा ४मा एमालेका जालिम मिया अन्सारी र कांग्रेसका रमेश रिजाल मध्ये कसले जित निकाल्ने भन्न अहिले कठिन छ । यी दुई उम्मेदवारबिच यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने निश्चित छ । २०७४को निर्वाचनमा यस क्षेत्रमा तत्कालिन राजपाबाट लक्ष्मणलाल कर्णले जित निकालेका थिए । तर सत्ता गठबन्धनबाट रिजालले यहाँ टिकेट पाएपछि कर्णले पर्सा १बाट उम्मेदवारी दिएका हुन् ।