जलेश्वर, मंसिर २

महोत्तरीको बर्दिबासबाट स्वतन्त्र उम्मेदवार विष्णुबहादुर योञ्जन सवार गाडीबाट डेढ लाख रुपैयाँ नगद प्रहरीले बरामद गरेको छ ।

महोत्तरीको बर्दिवास वडा नम्बर ११ स्थित खयरमाराको पाँचे टोलबाट स्वतन्त्र उम्मेदवार विष्णु बहादुर योन्जन चढेको गाडीबाट प्रहरीले डेढ लाख नगद बरामद गरेको हो ।

शुक्रबार साँझ पाँचे टोलमा पुगेका उम्मेदवार योन्जनको गाडीबाट रकम फेला पारी बरामद गरिएको महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जनाएका छन् ।

महोत्तरी क्षेत्र नं १ (ख) का स्वतन्त्र उम्मेदवार योन्जनले निर्वाचन आचारसंहिताविपरीत मतदातालाई प्रलोभनमा पार्नका लागि पैसा बोकेर हिँडेको पाइएपछि डेढ लाख रुपैयाँ बरामद गरिएको महोत्तरीका प्रहरी उपरीक्षक पंगेनिले बताए ।

बा १४ च ८८७४ नम्बरको स्कर्पियोमा आफ्ना समर्थकलाई लिएर हिँडेका योन्जनसहितका व्यक्तिलाई महोत्तरी प्रहरीले शनिबार स्पष्टीकरण सोध्ने गरी छाडेको महोत्तरी क्षेत्र नं १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठले बताए । शनिबार स्पष्टीकरण सोधिने र चित्तबुझ्दो जवाफ नआएमा २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने निर्वाचन अधिकृत श्रेष्ठले बताए ।

पाँचे टोलका स्थानीयको घरमा गएर कुरा गर्दै मतदातालाई प्रलोभन पार्न प्रयास गरिरहेको सूचनाका आधारमा खानतलासी गर्दा स्वतन्त्र उम्मेदवार योन्जनबाट सो रकम फेला परेको महोत्तरी प्रहरी उपरीक्षक पंगेनीले बताए ।