जनकपुर, मंसिर २६
एक साता देखि पठनपाठन ठप्प रहेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन् । आन्दोलनरत्त विद्यार्थीहरुले एक घण्टासम्म जनकपुर–जटही सडकखण्ड अवरुद्ध गरेका थिए ।
धनुषाको नगराईन नगरपालिकाको कार्यालयको कामकाज ठप्प पार्दै शिक्षक तथा कर्मचारीहरु धर्नामा बसेपछि विद्यार्थीहरुले जनकपुर–जटही सडकखण्डमा चक्काजाम गर्दै आन्दोलनमा उत्रेका हुन् ।
नगराईन नगरपालिकाको कार्यपालिकाले विगत पाँच महिनादेखि शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारीहरुको समेत तलबभत्ता नदिएको भन्दै उनीहरुले विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय तथा विकास निर्माणलगायतका सम्पूर्ण कामकाज बन्द गरेर धर्नामा बसेका छन् ।
लामो समयदेखि पठनपाठनसमेत ठप्प हुदाँ अध्ययनमा असर परिरहेको भन्दै तत्काल विद्यालय पठनपाठनका लागि सञ्चालन गर्नुपर्ने हाम्रो माँग रहेको विद्यार्थी नेता आदर्श मण्डलले जानकारी दिए ।
उनले गरिब तथा जेहेन्दार विद्यार्थीहरु सरकारी विद्यालयमै पढ्नुपर्ने बाध्यता रहेपनि यसप्रति मेयर, उपमेयर तथा शिक्षकहरुले समेत आ–आफ्नो छोराछोरीहरुलाई नीजि विद्यालयमा पढाएर सरकारी विद्यालय बन्द गरेर हाम्रो जिवनसँग खेलवाड गरेको आरोप लगाए ।

